धनुषा । धनुषामा छठघाटमा पूजासामग्री कुरेर बसेका ६० वर्षीय वृद्धको हत्या गरी फरार भएका अभियुक्तलाई पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाएको छ। भारततर्फ भाग्न खोजेपछि प्रहरीले गोली प्रहार गरी उनलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा शहीदनगर नगरपालिका–२ निवासी ३० वर्षीय जयकुमार यादव रहेका छन्। उनी बालक दास नामले समेत चिनिने गरेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार गत कात्तिक २९ गते शहीदनगर नगरपालिका–२ स्थित धनी पोखरीमा छठघाट निर्माण गरी पूजासामग्री राखेर कुरेर बसेका रामजतन यादव भोलिपल्ट बिहान करिब ६ बजे मृत अवस्थामा फेला परेका थिए।
घटनास्थलमा रगतका दाग र धारिलो हतियार फेला परेपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानका क्रममा पुरानो रिसइबीका कारण छिमेकी जयकुमार यादवले कस्सीले अनुहारमा प्रहार गरी रामजतनको हत्या गरेको खुलेको प्रहरीले जनाएको छ।
हत्यापछि भारततर्फ फरार भएका यादवको खोजी गर्ने क्रममा मंसिर १२ गते उनी जटही सीमाक्षेत्रमा लुकेर बसेको सूचना प्रहरीले प्राप्त गरेको थियो।
सोही सूचनाका आधारमा नगराइन नगरपालिका–२ जटहीबाट रामचौपुर जाने बाटोस्थित सीमाक्षेत्रमा पुगेको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिन खोजेको थियो। तर प्रहरीलाई देखेपछि उनी भारततर्फ भाग्न खोजेका थिए।
प्रहरीका अनुसार आत्मसमर्पण गर्न चेतावनी दिँदासमेत यादवले चाइनिज पेस्तोलबाट एक राउन्ड हवाई फायर गरेका थिए। त्यसपछि प्रहरीले चार राउन्ड गोली प्रहार गरी उनलाई नियन्त्रणमा लिएको हो।
प्रहरीको गोली लागेर यादवको बायाँ तिघ्रामा एक र दाहिने छडामुनि दुई गरी तीन गोली लागेको छ। घाइते उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ। प्रहरीले उनको अवस्था मध्यम रहेको जनाएको छ।




