कोशीको मुख्यमन्त्रीमा उद्धव थापाको दाबी पेस

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौ, १६ साउन ।  कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले दाबी पेस गर्नुभएको छ ।

थापाले आफूलाई कांग्रेसका २९ जना, माओवादी केन्द्रका १३ जना, एकीकृत समाजवादीका चार जना र जनता समाजवादी पार्टीका एक जना गरी ४७ सांसदको समर्थन रहेको भन्दै मुख्यमन्त्रीमा नियुक्त गर्न माग गर्नुभएको छ ।

थापाले प्रदेश प्रमुखको कार्यालयमा पेस गर्नुभएको दाबी उहाँसहित माओवादी केन्द्रको संसदीय दलका नेता इन्द्रबहादुर आङ्बाे, एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्रकुमार राई र जनता समाजवादी पार्टी संसदीय दलका नेता निर्मला लिम्बुले हस्ताक्षर गर्नुभएको छ ।

प्रदेश प्रमुख परशुराम खापुङले आज मङ्गलवार बेलुका ५ बजेसम्म मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गर्नुभएको थियो । ९३ सदस्यीय कोशी प्रदेशसभामा सरकार गठनका लागि ४७ जना सांसदको समर्थन आवश्यक छ ।

गठबन्धन दलसँग सभामुखबाहेक ४६ जनामात्रै सांसद भएपछि आजै सभामुख बाबुराम गौतमले राजीनामा दिनुभएको छ ।

मुख्यमन्त्रीमा नियुक्त भएको मितिले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्छ । गएको असार २१ गते मुख्यमन्त्री बनेका उद्धव थापाको नियुक्ति प्रक्रिया सर्वोच्च अदालतले बदर गर्दै नयाँ सरकार गठनका लागि आदेश दिएपछि नयाँ सरकार गठनको तयारी भएको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्