विराटनगर, १७ साउन । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाको शपथग्रहण समय साझ ५ बजेसम्का लागि सारिएको छ ।
यसअघि आज बिहान साढे १० बजे शसपथग्रहण गर्ने तयारी थियो । सोही अनुसार प्रदेश प्रमुखको कार्यालयले पनि तयारी गरेको थियो । तर मुख्यमन्त्री थापाले साझ ५ बजेसम्मका लागि शपथ सार्नुभएकाे छ ।
नेपाली कांग्रेस प्रमुख सचेतक भूपेन्द्र राईले मन्त्रालयको बाँडफाट टुङ्गो लगाएर शपथग्रहण गर्ने तयारी भएकाले समय सारिएको बताउनुभयाे ।
थापासँगै आजै गठबन्धन दलहरुबाट एक-एक जना मन्त्रीलाई शपथग्रहण गराउने तयारी छ ।
सत्तारुढ गठबन्धनभित्र नेकपा माओवादी केन्द्रले आर्थिक मामिला तथा योजना मन्त्रालय पाउने सहमति छ ।
एकीकृत समाजवादी पार्टीले भने भौतिक पूर्वाधार मन्त्रालयमा दाबी गरेको छ । मुख्यमन्त्री थापा समाजवादीलाई भौतिक पूर्वाधार मन्त्रालय दिन तयार छैनन् ।
कांग्रेसभित्र पनि कसलाई सरकारमा लैजाने भन्ने विवाद छ ।
प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठले शपथग्रहण साझ ५ बजेसम्का लागि सरेको बताउनुभयाे । प्राविधिक कारणबस शपथग्रहण सारिएको जानकारी आएको उहाका भनाइ छ ।





