सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति नबनेसम्म एमालेले राष्ट्रियसभा बैठक चल्न नदिने

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, १८ साउन । सुन तस्करी प्रकरणमा उच्च स्तरीय छानविन समिति बनाउन माग गर्दै नेकपा (एमाले) ले राष्ट्रियसभा बैठक अवरुद्ध गरेको छ ।

बिहीबार राष्ट्रियसभा बैठक सुरु हुनेबितिकै एमालेका सांसदहरुले उठेर विरोध जनाएका थिए । सो क्रममा एमाले सांसद भैरवसुन्दर श्रेष्ठले सरकारले सत्यतथ्य छानविनका लागि उच्च स्तरीय समिति बनाएर संसद् राम्रोसँग चल्ने वातावरण बनाउनुपर्ने बताउनुभयो । सुन तस्करी प्रकरणलाई एमाले टुलुटुलु हेरेर बस्ने पक्षमा नरहेको भन्दै उहाले उच्चस्तरीय छानविन समिति नबनाएसम्म कार्यसूचीमा रहेका बिषयलाई अघि नवढाउन आग्रह गर्नुभयो । श्रेष्ठले पछिल्लो सुन तस्करी प्रकरणमा देखिएको घटनाक्रम हेर्दा सरकारका रहेका व्यक्तिहरुको संलग्नता र सेटिङ भएको देखिएको आरोप लगाउनुभयो ।

बैठकमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले छलफल र वार्ताबाट यस बिषयमा निकास निकाल्न सम्बन्धीत पक्षलाई आग्रह गर्नुभयो । उहाले सहज रुपमा बैठक सञ्चालन गर्ने वातावरण बनाउन पनि आग्रह गर्नुभयो ।

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले पटक पटक आग्रह गर्दा पनि एमाले सांसदहरुले उठेर विरोध जनाएपछि उहाले साउन २२ गतेसम्मका लागि बैठक स्थगित गर्नुभएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्