श्रृंगारका सामाग्री आयातमा बाहिरिन्छ ठूलो रकम, एक करोडको सिन्दूर आयात

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, २१ साउन । दैनिक जीवनमा प्रयोग हुने सामग्रीको आयातमा ठूलो धनराशि खर्च भएको पाइएको छ । सिन्दूर, टुथपेस्ट, कपाल स्याहारको सामाग्री आयातमा ठूलो धनराशि विदेसिएको छ ।

भन्सार विभागले सार्वजनिक गरेको विवरणअनुसार त्यस्ता सामग्रीको आयातका लागि मात्रै ठूलो परिमाणमा विदेशी मुद्रा खर्च भइरहेको छ ।

विभागका अनुसार गत आर्थिक वर्षमा ‘नेइल पोलिस’को आयातमा मात्रै रु. पाँच करोड २७ लाख १८ हजार बाहिरिएको छ । त्यस्तै फेसक्रिम आयतमा रु. ७८ करोड पाँच लाख ८१ हजार बिदेसिएको छ । त्यस्तै, आर्थिक वर्ष २०७९र८० मा रु. ४६ करोड नौ लाख ८९ हजार मूल्य बराबरको ‘बडी लोसन’ आयात भएको छ । यसबाट सरकारले रु २३ करोड चार लाख ८३ हजार राजस्व संकलन गरेको छ ।

एक करोडको सिन्दूर आयात

विशेष गरी हिन्दू महिलाले प्रयोग गर्ने सिन्दूरको आयातमा पनि ठूलो धनराशि खर्च भएको छ । पछिल्लो एक वर्षमा मुलुकमा रु. एक करोड पाँच लाख ६५ हजारको सिन्दूर आयात भएको छ । गत आवमा सिन्दूर भारत र इन्डोनेसियाबाट आयात भएको छ ।

तीन अर्ब बढीको कपाल स्याहारका सामाग्री आयात

विभागका अनुसार गत आवमा रु. तीन अर्बभन्दा बढीको कपाल स्याहारका वस्तु आयात भएका छन् । कपालको स्याहारमा प्रयोग हुने स्याम्पु, तेल, क्रिम, रङलगायत वस्तु आयातमा उक्त धनराशि खर्च भएको हो ।

गत आवमा रु ६३ करोड २१ लाख ३३ हजार मूल्यको स्याम्पु आयात भएको छ भने रु. ६९ करोड ७७ लाख ७९ हजार मूल्यका कपालमा लगाउने तेल आयात भएको छ । साथै रु. सात करोड ३२ लाख ३८ हजार बराबरको कपालमा लगाउने क्रिम आयात भएको छ ।

त्यस्तै, कण्डिस्नर आयातमा रु. १० करोड ४५ लाख ४७ हजार खर्च भएको छ । कपाल रङ्गाउने वस्तु आयातमा रु. ६२ करोड २० लाख ८३ हजार बाहिरिएको देखिन्छ । त्यस्तै, कपाल हेरचारका अन्य वस्तु आयातमा रु ९७ करोड ६१ लाख २० हजार भन्दा बढी रकम विदेसिएको छ ।

आँखा र ओठ शृङ्गारमा रु. ५५ करोड

विभागका अनुसार गत आवमा ओठ र आँखा श्रृंगारका सामान आयातमा करोडौँ बाहिरिएको छ । गत आवमा मेकअपका सामान आयातमा रु. ३६ करोड ४४ लाख ६० हजार बाहिरिएको छ । जसमा आँखा मेकअपका लागि मात्रै रु. १९ करोड ४० लाख ८० खर्च भएको छ । त्यस्तै, अन्य श्रृंगारका सामग्री आयातमा रु. तीन अर्ब १३ करोड भन्दा बढी रकम मुलुकबाट बाहिरिएको छ ।

१६ करोडको टुथपेस्ट

त्यस्तै, विभागका अनुसार गत आवमा मुलुकमा रु. ७१ करोड ३२ लाख ५८ हजार मूल्य बराबरको टुथपेस्ट (मञ्जन) आयात भएको छ । यस्तै, रु. ५४ करोड ८४ लाख ८३ हजार मूल्य बराबरको मञ्जन निर्यात भएको छ ।

पेन्सिल, मार्कर आयातमा एक अर्ब बाहिरियो

विवरण अनुसार गत आर्थिक वर्षमा रु एक अर्बभन्दा बढीको पेन, पेन्सिल, मार्कर तथा यसका वस्तु आयात भएका छन् । गत आवमा रु. ५७ करोड ७६ लाख ९८ हजारको वलपेन आयात भएको छ । त्यस्तै, रु. १४ करोड ३८ लाख भन्दा बढीको पेन तथा मार्कर आयात भएको छ । विभागका अनुसार गत आवमा रु. ५४ करोड ५१ लाखभन्दा बढीको पेन्सिल तथा पेन्सिलको लिड आयात भएका छन् । गत आवमा रु. एक करोड ७२ लाकको पेनका निव, रु. तीन करोड ७२ लाखका पेनको रिफिल तथा मसी आयात भएको तथ्याङ्क छ ।

पकेट लाइटर आयातमा रु ५२ करोड खर्च

गत आवमा रु. ५२ करोडभन्दा बढीको पकेट लाइटर आयात भएको छ । त्यसमा रु. ४६ करोड ७२ लाख १५ हजारको पुनः ग्यास भर्न नमिल्ने, रु. एक करोड २३ लाख ९८ हजारको ग्यास भर्न मिल्ने तथा अन्य लाइटर रु. ५१ लाख ५५ हजारको आयात भएको देखिन्छ ।

६८ लाखको सेल्फी स्टिक आयात

विभागका अनुसार मोबाइलबाट फोटो खिच्न प्रयोग हुने विशेष प्रकारको लठ्ठी (सेल्फी स्टिक) को आयातमा रु. ६८ लाख ४४ हजार खर्च भएको छ भने रु. दुई करोड ५५ लाख २६ हजार बराबरको ट्राइपड आयात भएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्