काठमाडौं, २१ साउन । सबै वाणिज्य बैंकहरुले चौथो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् ।
सार्वजनिक वित्तीय विवरणअनुसार गत आर्थिक वर्ष २०७९/८० मा २० वाणिज्य बैंकहरुले कुल ७० अर्ब १७ करोड खुद नाफा कमाएका छन् ।
अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा यी बैंकहरुले ५६ अर्ब १७ करोड खुद नाफा कमाएका थिए । केही बैंकको मर्जपछि एकीकृत वित्तीय विवरण सार्वजनिक भएकाले नाफामा उल्लेख्य वृद्धि देखिएको छ । जसले गर्दा तत्कालीन नेपाल बंगलादेश बैंक गाभेको नबिलको नाफा सबैभन्दा धेरै ७६ प्रतिशत बढेको देखिन्छ ।
नबिल बैंकले सबैभन्दा धेरै ७ अर्ब ५२ करोड खुद नाफा आर्जन गरेको छ । नबिलपछि ग्लोबल आईएमई बैंकले ७ अर्ब २५ करोड नाफा कमाएको छ । तेस्रो स्थानमा रहेको सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले ४ अर्ब ९१ करोड खुद नाफा कमाएको छ ।
प्राइम कमर्सियल र कुमारी बैंकको नाफा भने अघिल्लो वर्ष २०७८/७९ को तुलनामा घटेको छ । प्राइम कमर्सियल बैंकको १८ र कुमारीको नाफा २४ प्रतिशतले घटेको हो । यी दुबै बैंकको निष्क्रिय (समयमै उठ्न नसकेको) कर्जा हृवात्तै बढ्दा नाफामा असर देखिएको हो । कुमारीको निष्क्रिय कर्जा ४.७७ प्रतिशत र प्राइम कमर्सियलको ४.२३ प्रतिशत पुगेको छ । यस्तो कर्जा ५ प्रतिशतभन्दा माथि गएमा राष्ट्र बैंकले कारबाही गर्ने व्यवस्था छ ।
धेरैजसो बैंकको नाफामा उल्लेख्य वृद्धि भए पनि बैंकहरुको प्रतिफल क्षमता भने बढ्ने सकेको छैन । प्रतिसेयर आम्दानी पनि सामान्य बढेको छ । प्रतिसेयर आम्दानीका आधारमा एनआईसी एसिया बैंक सबैभन्दा अगाडि छ । सो बैंकको प्रतिसेयर आम्दानी ४० रुपैयाँ २२ पैसा छ । त्यस्तै स्टान्डर्ड चार्टड बैंकको ३७ रुपैयाँ ३९ पैसा र राष्ट्रिय वाणिज्यको ३३ रुपैयाँ ९६ पैसा छ । वाणिज्य बैंकहरुको औसत प्रतिसेयर आम्दानी २१ रुपैयाँ ७४ पैसा छ । २०७८/७९ मा १९ रुपैयाँ ९८ पैसा थियो ।





