भागबन्डा मिलाउन बाग्मतीमा मन्त्रालयको सङ्ख्या थपियो, विनाविभागीय मन्त्रीलाई उद्योग मन्त्रालय

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

कवानपुर,२१ साउन ।  बाग्मती प्रदेशमा सत्ता गठबन्धनको भागबन्डा मिलाउन सरकारले मन्त्रालयको सङ्ख्या थपेको छ ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको गठबन्धनले लामो समयदेखि विनाविगागीय मन्त्रीका रूपमा काम गर्दै आएका नेपाली कांग्रेसका रामकृष्ण चित्रकारलाई मन्त्रालय फुटाएर उद्योग मन्त्रालयको जिम्मेवारी दिएको हो ।

मन्त्री नियुक्त भएको ७७ दिनपछि उहाँले जिम्मेवारी प्राप्त गर्नुभएको हो । माओवादीले सम्हालेको मन्त्रालय फुटाउने कि कांग्रेसले सम्हालेको मन्त्रालय फुटाउने भन्ने विवाद नमिलेका कारण ७७ दिनदेखि जिम्मेवारीविहीन रहेका मन्त्री चित्रकारले बल्ल आज आइतवार मन्त्रालय प्राप्त गर्नुभयो ।

माओवादी मन्त्रीहरूले आफ्ना मन्त्रालय फुटाउन नदिने भएपछि कांग्रेसले नै सम्हालेको पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय फुटाइएको हो । बाग्मती प्रदेशमा कायम रहेको ११ वटा मन्त्रालयमध्ये उद्योग पर्यटन तथा सहकारी मन्त्रालयलाई विभाजन गरी १२ वटा पुर्‍याइएको हो । सरकार गठनको समयमा उच्चस्तरीय समिति निर्माण गरी मन्त्रालय नफुटाउने प्रतिबद्धता जनाएका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आफ्नै वाचा अहिले तोड्नुभएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्