सांसद सुनिल शर्माको पक्राउको घटनालाई गम्भीरतापूर्वक लिएका छाैः रमेश लेखक

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, २६ साउन । नेपाली कांग्रेसले पार्टीका सांसद सुनिल शर्माको पक्राउको घटनालाई गम्भीरतापूर्वक लिएको जनाएको छ ।

शुक्रबार संसद भवन बानेश्वरमा बसेको कांग्रेस संसदीय दलको बैठकले सांसद शर्माको पक्राउको घटनालाई गम्भीरतापूर्वक लिएको र थप अध्ययनपश्चत धारणा सार्वजनिक गर्ने मुख्य सचेतक रमेश लेखकले जानकारी दिनुभयो ।

बैठकमा सांसदहरुले गम्भिर ढंगले उक्त बिषयलाई उठाएको भन्दै लेखकले थप छलफल गरि आइतबार बस्ने बैठकले उचित निर्णय लिने बताउनुभयो । उहाले पक्राउ अनुचित र आपत्तीजनक रहेको सांसदहरुको भनाइ रहेको र बैठकले गम्भीरतापूर्वक लिएको उल्लेख गर्नुभयो ।

संसदीय दलको बैठकले बाढी पहिरो र डुवानबाट भएको क्षतिका आधारमा भौतिक संरचनाको पूर्ननिर्माण, राहत उद्धारको व्यवस्था गर्न माग गरेको छ भने लम्कीस्किनका कारण किसानलाई ठूलो क्षति भएको भन्दै यसको नियन्त्रण र उचित क्षतिपूर्तिका लागि सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।

बैठकले डेंगु र आखा पाक्ने रोगको उपचारको उचित व्यवस्था र रोकथामको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको मुख्य सचेतक लेखकले बताउनुभयो । बैठकले तराईका केहि क्षेत्रमा प्रयाप्त बर्षा नभएका कारण रोपाई र खानेपानीको समेत समस्या भएकाले उचित ध्यान दिन आग्रह गरेको उहाले बताउनुभयो । लेखकले जनताको सरोकारका बिषयहरु अभिव्यक्ति हुने संसदलाई लगातार अवरुद्ध गर्नु आपत्तिजनक बिषय भएको जिकिर गर्नुभयो ।

उहाले सदन खुलाउन प्रतिपक्षी र सरकार गम्भीर हुनुपर्ने धारणा राख्नुभयो । कांग्रेस संसदीय दलको बैठक आइतबार पुन बस्ने लेखकले जानकारी दिनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्