तस्करीको सुन गालेर जर्ती छुट्याउँदा ६० किलाे ७ सय ग्राम मात्रै

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, ३० साउन । नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले भन्सार कार्यालयबाहिरबाट बरामद भएको सुन ६० किलो ७१६ ग्राम रहेको जनाएको छ ।

मंगलबार महाशाखामा सुनलाई पूर्णरुपमा गाल्दै जर्ती निकालेर जोख्दा ६० किलो ७१६ ग्राम तौल भएको हो । सुन गालिएपछि महाशाखाका निर्देशक थानेश्वर आचार्यले सुन तस्करी काण्डमा टक्सारमा ल्याउदा १५५ किलो भएकोमा ब्रेक सु र कार्टुनबाट निकाल्दा ६० किलो ७७९ ग्राम भएको र गालेपछि ६० किलो ७१६ ग्राम तौल आएको जानकारी दिनुभयो ।

उहाले गालिएका सुनलाई ३४ वटा विस्कुट बनाइएको र जर्ती ७३ ग्राम निस्किएको बताउनुभयो । सुन गालिएसंगै अव गुणस्तर परिक्षण हुने उहाको भनाइ छ ।

साउन तीन गते राजस्व अनुसन्धान विभागले काठमाडौंको सिनामङ्गलस्थित भन्सार कार्यालय अगाडिबाट सुनसहितको एक सय ५५ किलो ‘ब्रेक सु’ बरामद गरेको थियो ।

त्यसपछि उक्त सुनसहितको ‘ब्रेक सु’ टक्सार महाशाखामा राखिएको थियो । सुन तस्करी प्रकरणको सिआइबीले अनुसन्धान गरिरहेको छ ।

हङकङबाट गएको असार २९ गते ल्याएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारसमेत पार गरिसकेको सुन राजस्व अनुसन्धान विभाग र सशस्त्र प्रहरीको टोलीले सिनामङ्गलबाट बरामद गरेको थियो ।

यस प्रकरणमा १८ जना पक्राउ परेकामा १७ जना प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को हिरासतमा छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी