काठमाडौ, ४ भदौ । संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठको नाम सर्वसम्मतले अनुमोदन गरेको छ ।
सिंहदरबारमा सोमबार बसेको समिति बैठकले श्रेष्ठलाई प्रधानन्यायाधीशमा सर्वसम्मतले अनुमोदन गरेको हो । श्रेष्ठले समिति समक्ष भावी कार्ययोजना प्रस्तुत गर्नुभएको थियो । उहाँविरूद्ध परेको उजुरीका विषयमा पनि सोमबार नै सुनुवाइ भएको थियोे । उहाँविरूद्ध तीनवटा उजुरी परेको थियोे तर एकजना उजुरीकर्तामात्रै सम्पर्कमा आएका थिए ।
उजुरीकर्तामाथिको छलफल र श्रेष्ठमाथिको सुनुवाईपछि श्रेष्ठको नाम सर्वसम्मतले अनुमोदन गरेको समितिका ज्येष्ठ सदस्य पशुपति शमशेर जवराले जानकारी दिनुभयो ।
संवैधानिक परिषद्को बैठकले नाम सिफारिस गर्ने र संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । यसअघि संवैधानिक परिषद्को साउन १८ गते बसेकोे बैठकले सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश श्रेष्ठलाई प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको थियो ।




