बाल सुधार गृह भक्तपुरको घटना लापर्बाही र उदासीनताका कारण : इन्सेक

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, १५ भदौ ।  भक्तपुरको बाल सुधार गृहमा एक जनाको ज्यान गएको र बालबालिका सुधार गृहबाट बाहिरिएको घटना बाल सुधार गृहको सञ्चालन गर्ने संस्था युसेपको लापर्बाही र प्रशासनको उदासीनताका कारण भएको इन्सेकले जनाएको छ ।

इन्सेकको नेतृत्वमा विभिन्न सङ्घ–संस्थाका प्रतिनिधि सम्मिलित स्थलगत अध्ययन टोलीले आज शुक्रवार जारी गरेको प्रतिवेदनमा याे कुरा औँल्याइएको हो ।

सुधार गृह प्रशासनको बेवास्ताका कारण समयमै उपचार नपाउँदा १८ वर्षीय कमल बस्नेतको ज्यान गएकाे अध्ययन टोलीले निष्कर्ष निकालेको छ । ‘होस्टल वार्डेनसँग औषधि मागेको र वार्डेनले निको नामको औषधि दिएर पठाएको र भदौ ३ गते बिहान ६ बजेतिर बालक अचेत अवस्थामा फेला परेपछि तुरुन्तै मध्यपुर थिमी नगरपालिका–३ गट्ठाघरकाे नागरिक सामुदायिक अस्पतालमा लगिएको बालबालिकाले बताए’, प्रतिवेदनमा उल्लेख छ ।

बलात्कार मुद्दामा बाल सुधार गृहमा थुनामा रहेका मन्थली नगरपालिका–३ कठजोरका १८ वर्षीय कमल बस्नेतको भदौ ३ गते बिहान ६ बजेतिर सुधार गृहमा ज्यान गयो । ज्वरो र पिलोका कारण बिरामी भएका बस्नेतलाई समयमा नै उपयुक्त उपचारका लागि अस्पताल नलगिएका कारण ज्यान गएको पाइयो ।

सुधार गृह प्रशासनको लापर्बाहीका कारण बालकको ज्यान गएको भन्दै भदौ ३ गते नै घटनाको निष्पक्ष छानबिन गर्नुपर्ने, दोषीलाई कारबाही गर्नुपर्ने र पीडित पक्षलाई क्षतिपूर्ति दिनुपर्ने माग गर्दै सुधार गृहमा रहेका बालकहरूले सुधार गृहभित्र र मृतकका आफन्तले सुधार गृह परिसरमा नाराबाजी गरेका थिए । त्यही क्रममा प्रहरीसँगको झडपपछि सुधार गृहभित्र रहेका दुई सय २१ जना बालबालिका सुधार गृहको पछाडिको ढोका फोडेर बाहिर निस्किएका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी