नेपालको १० हजार मेगावाट बिजुली किन्न भारतीय मन्त्रिपरिषद्को स्वीकृति

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, १९ भदौ ।  भारतको मन्त्रिपरिषद्ले नेपालबाट १० वर्षमा १० हजार मेगावाट बिजुली किन्न खरिद गर्न स्वीकृति दिएको छ ।

नरेन्द्र मोदी नेतृत्वको केन्द्रीय सरकारको मन्त्रिपरिषद्ले नेपालसँग भएको बिजुली खरिद सम्झौता स्वीकृत गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको बेला नेपाल र भारतबीच १० हजार मेगावाट बिजुली किनबेचको सम्झौता भएकोमा भारतले सम्झौतालाई औपचारिक रूप दिएर मन्त्रिपरिषदबाटै पारित गरेको हो ।

भारतका लागि नेपाली राजदूत डाक्टर शंकरप्रसाद शर्माले पनि भारतले १० वर्षमा नेपालबाट १० हजार मेगावाट बिजुली किन्ने निर्णय गरेको उल्लेख गर्दै बिजुलीको क्षेत्रमा नेपालका लागि यो ठूलो उपलब्धि हुने बताउनुभएको छ । भारतको यो निर्णयले नेपालको आर्थिक विकास र पुनर्संरचनामा महत्त्वपूर्ण भूमिका खेल्न सक्ने उहाँले उल्लेख गर्नुभएको छ ।

भारतीय मन्त्रिपरिषद्ले बिजुली खरिद सम्झौता स्वीकृत गरेको जानकारी प्राप्त भएको नेपालको प्रधानमन्त्री कार्यालयले जनाएको छ । भारतको यो निर्णय नेपालको आर्थिक विकासका लागि कोशेढुङ्गा साबित हुने प्रधानमन्त्री कार्यालयले जनाएको नवभारत टाइम्स ले उल्लेख गरेको छ । प्रधानमन्त्री प्रचण्डले नेपालले जलविद्युत् क्षेत्रमा ठूलो परिवर्तन ल्याइरहेको र जलविद्युत् क्षेत्रमा विदेशी लगानी भित्र्याउने वातावरण सिर्जना गरिरहेको बताउनुभएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी