काठमाडौं, २८ भदौ । प्रतिनिधिसभा बैठकले संविधानसभाका अध्यक्ष, पूर्वसभामुख, प्रतिनिधिसभा सदस्य तथा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्बाङको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ ।
बिहीबार बसेको बैठकमा सभामुख देवराज घिमिरेले प्रस्तुत गर्नुभएको उक्त शोक प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो । शोक प्रस्ताव प्रस्तुत गर्दै सभामुख घिमिरेले नेम्वाङको निधनले मुलुकलाई क्षति पुगेको बताउनुभयो । बैठकले नेम्वाङको निधनप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक–सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दै एक मिनेट मौनधारण समेत गरिएको छ ।
नेम्वाङ नेकपा (एमाले) पार्टीको तर्फबाट २०४८ साल र २०५२ सालमा राष्ट्रियसभा सदस्य, २०५६ सालमा प्रतिनिधिसभा सदस्य, २०६३ सालमा पुनःस्थापित प्रतिनिधिसभा सदस्य र व्यवस्थापिका संसद् सदस्य, २०७२ मा रुपान्तरित व्यवस्थापिका संसद् सदस्य, २०७४ र २०७९ मा प्रतिनिधिसभा सदस्य हुनुहुन्थ्यो ।
उहाँ विसं २०६३ मा पुनःस्थापित प्रतिनिधिसभाको सभामुख, २०६३ सालमै व्यवस्थापिका संसद्को सभामुख तथा २०६५ साल र २०७० सालको संविधान सभाको अध्यक्ष हुनुहुन्थ्यो । यसैगरी, २०५६ मा प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखासमिति सभापति हुनुभएका स्वर्गीय नेम्वाङ कानुन, न्याय तथा संसदीय व्यवस्था र सामान्य प्रशासन मन्त्रीसमेत हुनुभएको थियो । संविधानसभामार्फत् नेपालको संविधान निर्माणमा उहाँको अग्रणी भूमिका रहेको थियो ।
प्रतिनिधिसभाको अर्को बैठक भाद्र २९ गते शुक्रबार १ बजे बोलाइएको छ ।