कर्णालीमा ३८ प्रतिशत नागरिक साधारण लेखपढबाटै बन्चित, एक वर्षमा होला त साक्षार घोषण ?

रेडियो काठमाण्डु
  • ख-
  • ख+

सुर्खेत, २ असोज । कर्णाली प्रदेशलाई पूर्ण रुपमा साक्षार बनाउनका लागि सरकार थालेको अभियान अझै प्रभावकारी हुन सकेको छैन ।

साक्षार जिल्ला घोषणा गरेकै ठाउँमा समेत निरक्षरको संख्या रहेको पाइएपछि प्रभावकारी नभएको पाइएको छ ।

कर्णालीलाई साक्षार प्रदेश घोषणाका लागि तयारी थालिरहँदा घोषण गरेका जिल्लाको शैक्षिक अवस्था कमजोर रहेको रुपमा घोषण भएपनि त्यहाँको अवस्थासमेत सन्तोषजनक नभएको  पाइएको हो । जाजरकोट, दैलेख, सुर्खेत, सल्यान र रूकुम–पश्चिम साक्षार घोषण गरिएको छ । कालीकोट, मुगु, जुम्ला, हुम्ला र डोल्पा घोषणा हुन बाँकी रहेका छन्  । साक्षार घोषणा गर्न बाँकी क्षेत्रका जिल्लामा स्थानीय तहमार्फत साक्षार अभियानको सुरुवात गरिएको सरकारले बताउदै आएको छ  ।

कर्णाली सरकारको तथ्यांकअनुसार प्रदेशमा झन्डै साढे चार लाख नागरिक अहिले पनि निरक्षर छन् । यहाँको साक्षारता दर ६२ प्रतिशत हाराहारी छ । कर्णालीका ३८ प्रतिशत नागरिक साधारण लेखपढ समेत नभएको पाइएको छ । १५ वर्षदेखि सुस्ताएको साक्षारता अभियान पूनः सञ्चालन गर्न लागिएको हो ।

मुगुको छायाँनाथ रारा, जुम्लाको गुठिचौरमा साक्षारता अभियान सञ्चालन हुन लागेको छ । चालु आवमा पालिकाले भने बजेट विनियोजन गरेको छैन । संघ र प्रदेशले आवश्यकताका आधारमा पठाएको बजेटको परिधिमा रहेर अभियान सञ्चालन गर्ने योजना रहेको पालिकाले जनाएका छन् । रास्कोट नगरपालिका कालीकोट पनि पूर्ण साक्षार नभएको पालिकामा पर्छ । नगरप्रमुख धर्मराज शाहीले एक वर्षमा पालिकालाई पूर्ण साक्षार घोषणा गर्नेगरी तयारीमा जुटेको जानकारी दिए । उनका अनुसार पालिकाले निरक्षरको तथ्याङ्क संकलन गरिरहेको छ । त्यसलगत्तै पालिकाले साक्षारता अभियान सञ्चालन गर्ने योजना बनाएको छ । उक्त नगरपालिकामा करिब २२ प्रतिशत नागरिक अझै निरक्षर छन् ।

डोल्पाको मुड्केचुला गाउँपालिकाले भने पालिकालाई पूर्ण साक्षार घोषणा गर्नका लागि सबै प्रक्रिया सम्पन्न गरेको छ । १५ देखि ६० वर्ष उमेर समूहका ९५ प्रतिशत नागरिक साक्षार भएकाले पालिकालाई साक्षार घोषणा गर्ने तयारी थालिएको गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले बताए । साक्षार घोषणा गर्ने आधार तयार भएकाले पालिकालाई साक्षार घोषणा गर्न लागिएको उनले बताए ।

कर्णालीलाई सारक्षर बनाउनका लागि तीन तहका सरकारको भूमिका महत्वपुर्ण रहेको सरोकारवाला निकायहरु बताउँदै आएका छन् । मुख्यमन्त्री राजकुमार शर्माले कर्णालीका सबै ठाउँमा साक्षार बनाउका लागि पहल व्यापक रुपमा थालिएको बताए । एक वर्ष भित्र हामी लक्ष्यमा पुग्छौँ शर्माले भने ।

तीन तहका सरकारको समन्वयमा कर्णाली प्रदेशलाई साक्षार घोषणा गरिने उनको भनाइ छ । स्थानीय तहले चाहेको खण्डमा यो वर्ष नै साक्षार जिल्ला घोषणा गर्न सकिने अवस्था रहेको भन्दै पालिकालाई तयारीमा जुट्न मुख्यमन्त्री शर्माले आग्रह गरेका छन् । उनले भने, ‘यहि वर्ष साक्षार प्रदेश घोषणा हुन्छ । त्यसको तयारीमा लाग्नुपर्ने हुन्छ । प्रदेश सरकारले पनि साही बमोजिम कार्यक्रम अघि बढाउँछ ।’

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक चुडामणि पौडेलले संघीय सरकारको नीति तथा कार्यक्रममा साक्षारता अभियानलाई समेटिएको जानकारी दिए । उनका अनुसार संघीय सरकारले यो वर्ष नै बाँकी रहेका प्रदेशलाई पूर्ण साक्षार गर्नेगरी कार्ययोजना निर्माण गरेको छ । कर्णालीका २७ वटा पालिका साक्षार घोषणा हुन बाँकी रहेकाले निरक्षरहरूको तथ्याङ्क संकलनको मुख्य जिम्मेवारी सम्बन्धित स्थानीय तहको हुने उनले बताए ।

निरक्षरहरूको तथ्याङ्क संकलन, निरक्षरहरूको तथ्याङ्क विष्लेषण पहिचान, सम्बन्धित् स्थानमा सरोकारवालाहरूको बैठक, सहजकर्ताहरूको नियुक्ति तथा तालिम, मुल्याङ्कन तथा साक्षार सुनिश्चितता र साक्षार घोषणा गर्ने मिति तयार गर्ने जस्ता कार्ययोजना निर्माण गरिएको हो ।

साविक कर्णालीका पाँच जिल्लाका ३६ पालिकामध्ये २७ पालिका साक्षार घोषणा हुन बाँकी छन् । मुुगुुका चार, जुुम्लाका आठ, कालीकोटका आठ, हुुम्लाको एक, डोल्पाका ६ गरी २७ पालिका साक्षार घोषणा भएका छैनन् । स्थानीय सरकारहरूले कार्ययोजना निर्माण गरेर साक्षारता अभियानको सुरुवात गरेका हुन् ।

संघीयताको कार्यनवयनसँगै यो अभियान ओझेलमा परेको थियो । साक्षार घोषणा हुन बाँकी सबै स्थानीय तहका जनप्रतिनिधिहरूले एक वर्षमा पालिकालाई साक्षार घोषणा गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।

‘साक्षार घोषण भएका जिल्लामा समेत निरक्षरको संख्य बढी रहेको पालिकाले नै जनाएका छन् । साक्षार घोषण कसरी भएको हो, यहाँ प्रश्न उठिरहेको छ,’ जुनिचाँदे गाउँपालिकाका रेशम खड्काले प्रश्न गरे ।

न्युज कारखाना

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्