चिकित्सकमाथि दुव्र्यव्यवहार गर्नेलाई कारवाही गर्न निर्देशन

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडाैं, १२ असोज ।  शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले चिकित्सकमाथि आक्रमण र दुव्र्यव्यवहार गर्नेलाई नियमानूसार कारवाही गर्न सरकारलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले चिकित्सकमाथि भएको आक्रमण र दुव्र्यव्यवहारप्रति खेद प्रकट गर्दै दोषी उपर नियमानूसार कारवाही गर्न सरकारलाई निर्देशन दिएको हो । बैठकले सार्वजनिक सरोकारको स्वास्थ्य क्षेत्रलाई भयरहित बनाई निर्वाध रुपमा सेवा प्रवाह गर्ने वातावरण बनाउन स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको छ ।

त्यस्तै स्वास्थ्य क्षेत्रको समस्या वार्तामार्फत समाधान गर्न र चिकित्सकहरु पनि नियमित हुने वातावरण निर्माण गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको समिति सभापति भानुभक्त जोशीले जानकारी दिनुभयो ।

बैठकमा स्वास्थ्यमन्त्री मोहन बहादुर बस्नेतले अहिलेकै दरवन्दी कायम रहेपनि जस्तो व्यवस्था गरेपनि चिकित्सकहरुमाथिको दुव्र्यव्यवहारलाई सत प्रतिशत न्यूनिकरण गर्न नसकिने बताउनुभयो । उहाले चिकित्सकमाथि आक्रमण र दुव्र्यव्यवहार गर्नेलाई कानूनी कारवाही गरेर सहज रुपमा उपचार गर्ने वातावरण बनाउन सरकार प्रतिवद्ध रहेको जिकिर गर्नुभयो । स्थायी रुपमा समस्या समाधानका लागि मन्त्रालयले गम्भीर भएर काम गरेको र गृह पनि त्यही अनुसार अघि बढेको उहाले बताउनुभयो ।

त्यस्तै गृहसचिव दिनेश भट्टराईले चिकित्सकमाथि आक्रमण र दुव्र्यव्यवहारका घटनामा संलग्नलाई कारवाहीको प्रक्रिया अघि बढाएको बताउनुभयो । स्वास्थ्यकर्मीसम्बन्धी ऐनले व्यवस्था गरेको सजायका प्रावधान स्वास्थ्य संस्थामा देखिनेगरि राख्ने गरि सरकार अघि बढेको उहाले बताउनुभयो ।

त्यस्तै नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिलबिक्रम कार्कीले स्वास्थ्य संस्था शान्ति क्षेत्र हो भनेर स्थापित गर्न दृढ राजनीतिक संकल्प आवश्यक रहेको बताउनुभयो । घटनालाई राजनीतिक रंग दिएर दोषीहरुले उन्मुक्ति पाउदा मनोवल बढेको र यस्ता घटना बढ्दै गएको उहाको भनाइ छ । उहाले सरकारसंग भएको सहमतिको मसि नै सुक्न नपाउदै आक्रमणका घटनामा कमी नआएकाले विरोधका कार्यक्रम जारी रहेको बताउनुभयो ।

बैठकमा समिति सदस्यहरुले स्वास्थ्य संस्थामा देखिएको समस्या समाधानमा राज्य गम्भीर हुनुपर्ने र नागरिकले सहज रुपमा स्वास्थ्य सेवा पाउने तथा चिकित्सकहरुले पनि सहज रुपमा उपचार गर्ने व्यवस्था गर्नुपर्ने धारणा राखेका थिए ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी