कार्तिक ३ गतेसम्म नयाँ नोट साट्न सकिने

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौ‌, ३० असोज । नेपाल राष्ट्र बैंकले सोमवारदेखि शुरु भएको दशैँ–तिहार लक्षित नयाँ नोट सटही सुविधालाई आज मंगलबार पनि निरन्तरता दिदैछ ।

राष्ट्र बैंकले हरेक वर्ष दशैँ–तिहार लक्षित नयाँ नोट सटही सुविधा दिने गरेको छ । विगतका वर्ष हरुमा जस्तै यो वर्ष पनि राष्ट्र बैंकले हिजोदेखि नयाँ नोट साट्न शुरु गरेको हो । नयाँ नोट सटही सुविधा आगामी शुक्रवार अर्थात कार्तिक ३ गते सम्म रहने राष्ट्र बैंकले जनाएको छ ।

नयाँ नोट सटही गर्दा प्रतिव्यक्ति १८ हजार पाँच सय रुपैयाँसम्म पाउने व्यवस्था राष्ट्रबैंकले गरेको छ । नयाँ नोटका लागि काठमाडौं उपत्यकाभित्रको हकमा राष्ट्रिय वाणिज्य बैंक र वाणिज्य बैंकहरुले तोकेको शाखाबाट सटही गर्न सकिनेछ । काठमाडौँ उपत्यका बाहिरको हकमा राष्ट्र बैंकको प्रदेशस्थित कार्यालय वा वाणिज्य बैंकका शाखा कार्यालयमा गई नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ । नयाँ नोट सटही सुविधा शुरु भएसँगै मानिसहरु लाइनमा बसेर राष्ट्र बैंकमा पुगेर नयाँ नोट सटही गरिरहेका छन् ।

विगतका वर्षहरुमा भन्दा यस वर्ष राष्ट्र बैंकले वाणिज्य बैंकहरुको सिमित शाखाहरुबाट मात्रै नोट बाँड्ने व्यवस्था मिलाएको छ । बैंकहरुले सटही गर्दा ५ को एक प्याकेट, १० को, २० को, ५० को र सय रुपैयाँ दरको एक प्याकेट उपलब्ध गराइरहेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी