काठमाडौं, १ मंशिर । छठ पर्व विधिवत् रूपमा शुक्रबारबाट सुरुभएको छ ।
छठ पर्वको पहिलो दिन ‘नहाय–खाय’ विधिमार्फत व्रतको शुरुवात गर्ने परम्परा छ । जस अनुसार व्रतालुले पवित्र स्नान गरी व्रत सङ्कल्प गरेर चोखोनितो खान्छन् ।
व्रतालुले शनिवार निराहार व्रत बसी राति सख्खरमा पकाइएको अरबा चामलको खिर कुलदेवता र छठीदेवीलाई चढाएर प्रसादस्वरूप खान्छन् । यो विधिलाई मिथिलामा ‘खरना’ भनिन्छ ।
व्रतालुले षष्ठी तिथिका दिन निराहार व्रत बसेर बेलुकी पख अस्ताउँदो सूर्यलाई अर्घ्य दिन्छन् । यसको भोलिपल्ट बिहानै उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्व सम्पन्न हुने परम्परा छ । छठ प्रारम्भसँगै मिथिलाका धार्मिक महत्त्वका तलाउ र नदी परिसर सिङ्गारिएका छन् ।




