मीन घले समूहले १ सय ३८ किलो सुन ल्याएको छानबिन समितिको निष्कर्ष

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, ८ पुस ।   त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गोरखाका मीनबहादुर घले र चन्द्र घले सम्मिलित समूहले १३८ किलो सुन भित्राएको निष्कर्ष निकालेको छ ।

सुन तस्करीबारे छानबिन गर्न त्रिभुवन विमानस्थलको भन्सार कार्यालयले गठन गरेको समितिको प्रतिवेदनमा पटक पटक गरी मीन बहादुर घले, चन्द्र घले र कृष्ण कुमार श्रेष्ठले गरी जम्मा १३८ केजी सुन ल्याई विमानस्थलबाट सेटिङ्ग मिलाई बाहिर ल्याउने निष्कर्ष निकालेको हो ।

समितिले आइतबार त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक टोकराज पाण्डेलाई प्रतिवेदन बुझाएको थियो । त्यसपछि प्रतिवेदन सार्वजनिक गर्दै कार्यालयले पछिल्लो पटक चन्द्र घलेले ल्याएको १४ केजी मात्र पक्राउ परेको देखिएको जनाएको छ ।

त्यस्तै प्रतिवेदनमा विमानस्थलबाट सुन बाहिर निकाल्न कर्मचारीको पनि संलग्नता देखिएको उल्लेख छ । एयरपोर्टबाट सुन बाहिर निकाल्न एयरपोर्टमा कार्यरत नागरिक उड्डयन कार्यालय, गौचरका एसी मेकानिक राधाकृष्ण श्रेष्ठ, कार्यालय सहयोगी लेक बहादुर तामाङ, सेवा निवृत्त भई करारमा कार्यरत रमेश देउला, एसी शाखामा काम गर्ने सहयोगी अनिल श्रेष्ठ र प्लम्बर सेर बहादुर बस्नेत समेतले भूमिका खेलेको खुल्न आएको छानविन समितिका संयोजक प्रमुख भन्सार अधिकृत मनिराम पौडेलले जानकारी दिनुभयो ।

समितिले अध्यागमन कार्यालयले निरन्तर रुपमा दुबई, सिंगापुर, थाइल्यान्ड लगायतका देशमा आवागमन गरिरहेका यात्रुहरुको सूचना भन्सार तथा प्रहरीलाई दिने लिने व्यवस्था मिलाउनुपर्ने सुझाव दिएको उहाले बताउनुभयो ।

त्यस्तै प्रमुख भन्सार प्रशासक टोकराज पाण्डेले १३८ किलो सुन भित्राएको प्रारम्भीक विवरणमा आधारमा बृहत छानविनको अवस्था आउन सक्ने बताउनुभयो । यस प्रकरणमा संलग्न केहि विदेशी नागरिक भएकाले सम्बन्धीत देशसंग पनि समन्वयन गरिने उहाले बताउनुभयो ।

छानविन समितिले नेपाल आयल निगम, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरको सिनामंगल चोकस्थित गेटमा वाक थ्रो मेटल डिटेक्टर तत्काल राख्नु पर्ने, कर्मचारीहरुको सुरक्षा जाँच गराई भित्र प्रवेश गर्ने र निस्कने क्रममा सुरक्षा जाँच गर्नुपर्ने लगाएतका सुझाव दिएको छ । गत मंसिर २२ गते दुबईबाट काठमाडौं आएका चन्द्र घलेलाई १४ किलो सुनसहित पक्राउ गरेपछि भन्सार कार्यालयले छानविन समिति गठन गरेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्