काठमाडौं, १७ पुस । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलो सुन बरामद भएको घटनाको मुद्दा काठमाडौं जिल्ला अदालतमा दर्ता भएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले सोमबार जिल्ला अदालत काठमाडौंमा सरकारी वकिल कार्यालयमार्फत मुद्दा दर्ता भएको प्रमुख भन्सार अधिकृत मणिराम पौडेलले जानकारी दिए।
गत मंसिर २१ गते भन्सार कार्यालयले फ्लाई दुबईबाट काठमाडौं आएका चन्द्र घलेबाट १४ किलो सुन बरामद गरेको थियो। उनले ज्याकेटभित्र लुकाएर ल्याएका थिए। यसको अनुसन्धानपछि भन्सार कार्यालयले सोमबार १० जनाविरूद्ध मुद्दा दायर गरेको हो।
भन्सार कार्यालयले ८ जनालाई पक्राउ गरेको थियो। दुई जनालाई फरार कायम गरी मुद्दा दायर गरेको हो।
यसको अनुसन्धान गर्न प्रमुख भन्सार प्रशासक टोकराज पाण्डेले प्रमुख भन्सार अधिकृत मणिराम पौडेलको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो। छानबिन समितिले अनुसन्धान गरी पुस ८ गते नै कार्यालयलाई अनुसन्धान प्रतिवेदन बुझाएको थियो।
भन्सार कार्यालयले यसमा मिनबहादुर घले, चन्द्र घले, कृष्णकुमार श्रेष्ठ, डनबहादुर गुरूङ र उनकी श्रीमती बिना गुरूङलाई मुख्य प्रतिवादी बनाएको थियो।




