काठमाडौं, १४ माघ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले ठूला नौ सहकारीको अनुगमन निरीक्षणका लागि राष्ट्र बैंकलाई सिफारिस गरेको छ ।
सहकारी क्षेत्र सुधार सुझाव कार्यदलको प्रतिवेदन, २०८० को सुझावअनुसार मन्त्रालयले केही ठूला सहकारीको अनुगमनका लागि बैंकलाई आग्रह गरेको हो ।
मन्त्रालयका अनुसार लालीगुराँस बहुउद्देश्यीय सहकारी पुल्चोक, गोर्खा सेभिङ एन्ड क्रेडिट ललितपुर, आइडियल यमुना हाम्रो बहुउद्देश्यीय काठमाडौं, कान्तिपुर बचत तथा ऋण सहकारी संस्था काठमाडौं, गौतम श्री बहुउद्देश्यीय काठमाडाैं, राष्ट्रिय सहकारी बैंक पुल्चोक, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संस्था काठमाडौं, शुभरत्न बचत तथा ऋण सहकारी संस्था काठमाडाैं र नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ ललितपुरको अनुगमन गर्न मन्त्रालयले राष्ट्र बैंकलाई आग्रह गरेको हो ।
पछिल्लो समयमा सहकारीहरू समस्यामा पर्न थालेपछि सरकारले गत वैशाखमा सहकारी क्षेत्र सुधार सुझाव कार्यदल गठन गरेको थियो ।
कार्यदलले १३ वटा तत्कालीन सुझाव, १३ वटा अल्पकालीन र ३३ वटा दीर्घकालीन सुझाव दिएको थियो । कार्यदलले दिएको सुझावअनुसार मन्त्रालयले नियमनका लागि राष्ट्र बैंकलाई आग्रह गरेको मन्त्रालयले जनाएको छ ।





