काठमाडौं, १६ माघ । विश्वमा व्यापक भ्रष्टाचार हुने मुलुकहरुको सूचीमा नेपालले केहि सुधार गरेको छ ।
ट्रान्सपरेन्सी इन्टरनेशनलको भ्रष्टाचार अवधारणा सूचकांक (सीपीआई) २०२३ मा नेपालले केहि सुधार गर्दै ११० औं स्थानबाट १ सय ८ औं स्थानमा उक्लिएको हो । ट्रान्सपरेन्सी इन्टरनेशनलले मंगलबार काठमाडौंमा सीपीआई प्रतिवेदन सार्वजनिक गर्दै १८० मुलुकमध्ये नेपाल ३५ अंकका साथ १०८ औं स्थानमा रहेको जनाएको हो ।
सूचकांकमा डेनमार्क ९० अंकका साथ सवैभन्दा कम भ्रष्टाचार हुने मुलुक र ११ अंक प्राप्त गरि सोमालिया सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकका रुपमा सूचिकृत भएका छन् । सुचकांकमा १०० अंकले अति स्वच्छ र ० अंकले अति भ्रष्ट जनाउदछ भने ३५ अंकभन्दा कम स्कोर ल्याउने मुलुकहरु गम्भिर भ्रष्टाचारको समस्यामा परेको मानिन्छ ।
कार्यक्रममा ट्रान्सपरेन्सी नेपालकी अध्यक्ष पद्मिनी प्रधानाङ्गले गत बर्षको तुलनामा नेपालको अंकका केहि सुधार भएपनि भ्रष्टाचार व्याप्त मुलुकहरुको श्रेणीमै कायमै रहको बताउनुभयो ।
उहाले भ्रष्टाचार विरुद्धको जनचाहना सम्बोधन गर्न सरकार यथाशिघ्र अति गम्भीर हुन जरुरी रहको बताउनुभयो । प्रधानाङ्गले संसदमा विचाराधिन रहेका भ्रष्टाचार विरोधी ऐन कानूनलाई फितलो बनाउने प्रयास रोक्नुपर्ने, राजनीतिक व्यक्तिउपर भ्रष्टाचारका मुद्धामा निष्पक्ष अनुसन्धान तथा कारवाही गर्न ट्रान्सपरेन्सी इन्टरनेशनलले माग गरेको बताउनुभयो ।
त्यस्तै उहाले मन्त्रिपरिषद्को नीतिगत निर्णयका नाममा भ्रष्टाचारको अनुसन्धानबाट उन्मुक्ति पाउने व्यवस्थाको अन्त्य गर्न माग गरिएको जानकारी दिनुभयो ।
सीपीआई २०२३ मा दक्षिण एशियाली राष्ट्रहरूमध्ये भुटानले २६, भारत ९३, माल्दिभ्सले ९३, श्रीलंका ११५, पाकिस्तान १३३, बङ्गलादेश १४९ र अफगानिस्तान १६२ औं स्थानमा रहेको छ ।




