१ वर्षमा ७० हजारभन्दा धेरै नेपाली स्थायी बसाेबासका लागि विदेशिए

रेडियो काठमाण्डु
  • ख-
  • ख+

काठमाडौं, २५ माघ । गएको वर्ष नेपालबाट ७० हजार नौ सय १५ जना नेपाली स्थायी बसाेबासका लागि विदेशिएका छन् ।

राज्य व्यवस्था तथा सुशासन समितिमा आज भएको छलफलमा अध्यागमन विभागका महानिर्देशक रुद्रसिंह तामाङले सन् २०२३ मा १६ लाख तीन हजार आठ सय ३८ जना नेपाली नागरिक विदेशी जाँदा १२ लाख ६३ हजार चार सय ६९ जना भित्रिएका बताउनुभयो ।

उहाँले पछिल्लो एक वर्षमा विदेश गएकामध्ये तीन लाख ४० हजार तीन सय ६९ जना नेपाली विदेशमा नै बसेको बताउनुभयो । उहाँले यस अवधिमा अध्ययनका लागि एक लाख आठ हजार पाँच सय ४२ जना, अस्थायी बसोवास भिसामा ९२ हजार तीन सय ४९, स्थायी बसोवास भिसामा ७० हजार नौ सय १५ र विवाह गरेर डिपेन्डेन्ट भिसामा २० हजार छ सय १३ जना नेपाली विदेश गएका जानकारी दिनुभयो ।

महानिर्देशक तामाङले यसमा भारतको भूमि भएर तेस्रो देशमा गएका दुई लाख ९२ हजार दुई सय ४० जनाको सङ्ख्या समावेश नभएको बताउनुभयो ।

सन् २०२३ मा आठ लाख आठ हजार चार सय १५ नेपाली श्रमिकको रूपमा विभिन्न देश गएको विभागको तथ्याङ्क छ । महानिर्देशक तामाङले अध्यागमन कार्यविधि २०६५ सालमा नेपालीलाई विदेश प्रस्थानसम्बन्धी भएको सरल व्यवस्थालाई २०७८ समाल फागुन २६ गते नेपाल सरकारको सचिवस्तर निर्णयबाट जटिल बनाइएको बताउनुभयो ।

अध्यागमन विधेयकलाई समयसापेक्ष बनाउन नियमावली संशोधन गर्नुपर्ने आवश्यक रहेको उहाँको भनाइ छ ।

सन् २०२३ मा विभिन्न कारणबाट चार सय ५९ विदेशीलाई नेपालबाट निष्कासन गरेको विभागको तथ्याङ्क छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्