कोरियन भाषा परीक्षा फागुन ७ देखि हुने , डेढ लाख बढी सहभागी हुने

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, ४ माघ ।  नेपालीको श्रमिक गन्तव्य दक्षिण कोरिया जान इपिएस कोरिया शाखाले फागुन ७ देखि कोरियन भाषा परीक्षा सञ्चालन हुने जनाएको छ।

परीक्षा राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान, भैंसेपाटीमा सञ्चालन हुनेछ।

परीक्षा एक दिनमा पाँच सिफ्टमा सञ्चालन गरिनेछ भने एक दिनमा एक हजार परीक्षार्थीले सहभागिता जनाउन सक्ने गरी व्यवस्था मिलाइएको इपिएस कोरिया शाखाका निर्देशक मैयाँ कँडेलले जानकारी दिए।

परीक्षा हुने अघिल्लो दिन आफ्नो सिफ्टअनुसार ईपीएस शाखा, कार्यालय ग्वार्कोमा बायोमेट्रिक रजिस्ट्रेसन फिंगर प्रिन्ट दर्ताका लागि उपस्थित हुनुपर्नेछ। परीक्षाका दिन परीक्षा केन्द्र भैंसेपाटीमा बायोमेट्रिक भेरिफाइ हुनेछ। 

परीक्षा समयभन्दा एक घन्टा अगाडि परीक्षा हलमा ‘ओरेन्टेसन’ शुरु हुने र निर्धारित समयमा उपस्थित नभए सहभागी नगराइने निर्देशक कडेलले बताए। परीक्षामा मोबाइलफोन, स्मार्टवाचलगायतका कुनै पनि विद्युतीय सञ्चारका साधन लैजान निषेध गरिएको छ।

यसैगरी परीक्षामा अवाञ्छित गतिविधि गरेको भेटिए परीक्षा रद्द गर्नुका साथै चार वर्षसम्म समावेश हुन निषेध गरिनेछ। सन् २०२३ का लागि कोरियाको उत्पादनमूलक क्षेत्रतर्फ एक लाख ६४ हजार ७१६ जनाले आवेदन दिएको इपिएस कोरिया शाखाले बताएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्