सीतापाइला सामूहिक हत्या प्रकरणः तीन जनाको हत्यापछि छोरालाई खिच्न लगाएको भिडिओ सन्देश फेला

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं , ९ फागुन । नागार्जुन नगरपालिका–६ भैरव टोलमा श्रीमती, छोरी र नातिनीको हत्या गरेका काजी भनिने राजु विश्वकर्माले आत्महत्या गर्नुअघि भिडियो सन्देश रेकर्ड गरेको भेटिएको छ ।

काजीले आफ्नै छोरालाई खिच्न लगाएका भिडियो घटनाको अनुसन्धान गरिरहेको प्रहरीसम्म पुगेको छ ।

भैरव टोलमा डेरा गरी बस्ने ईश्वरी भन्ने प्रेमकुमारी श्रेष्ठ, उनकी छोरी र नातिनीको बुधबार विहान हत्या भएको थियो ।

परिवारका तीन जनाको हत्या गरेका काजीले घर नजिकै झुण्डिएर आत्महत्या गरेको पाइएको प्रहरीले जनाएको छ ।

ईश्वरी र काजी श्रीमान श्रीमती हुन् । उनीहरुसँगै परिवारमा ६ जना थिए । ईश्वरीको पहिलो श्रीमानतर्फका छोरा विदेशमा छन् भने उनका श्रीमती र छोरीसँगै थिए । ईश्वरी र काजीबाट छोरा (१५ वर्ष) र छोरी (८ वर्ष) थिए ।

बुधबार विहान बुहारी काममा गइसकेकी थिइन् । कक्षा ७ मा पढ्ने छोरालाई बिहान ७ः४० बजेतिर गोलामारी किन्न पठाए । पसलबाट फर्किएर गेटमा पुग्ने वित्तिकै उनलाई बुबाले ‘ममी मरिसकेँ, सबै मारिँसके’ भनेका थिए ।

किन यस्तो गरेको भन्दै कराउन थालेपछि धकेलेर आफूलाई भिडियो खिच्न लगाएको उनले बताए । उनको मोबाइलमा छोटो छोटो भिडियो क्लिप पनि भेटिएको छ, जसमा काजीले श्रीमतीमाथि केही आरोप लगाएका छन् भने आफ्नो सम्पत्तिबारे पनि भनेका छन् ।

उनले विभिन्न बैंकमा बचत रहेको आफ्नो पैसाबारे पनि भिडियो सन्देशमा भनेका छन् ।

‘मैले….लाई कागज पत्र दिइसकेको छु, सुन दराजमा छ’, भिडियोमा उनले भनेका छन्, ‘मलाई माफ गर्नू ।’

विदेशमा रहेका छोरा (श्रीमतीको पहिलो पतितर्फ) लाई सम्बोधन गर्दैै उनले भिडियोमा भाइलाई हेँला गरेको थाहा पाए राम्रो नहुने’ समेत बताएका छन् ।

अनुसन्धान अधिकृतहरुका अनुसार विहान ७ः३० देखि ८ बजेको बीचमा घटना भएको देखिन्छ । हम्मर र कैंचीले हानेर हत्या गरेको प्रहरीको प्रारम्भिक जाँचबाट देखिएको छ ।

परिवारका तीन सदस्यको हत्या गरेका काजीले छोरालाई भिडियो खिच्न लगाए । लगत्तै डोरी लिएर निस्किएका उनले सालीलाई पनि फोन गरेर आफूले सबैलाई मारेर निस्किएको बताएका थिए । त्यसपछि सालीले गलत काम नगर्न सम्झाएकी थिइन् । ‘अरु कुरा छोड्देऊ, अनिशको राम्रो रेखदेख गरिदेऊ’, उनले भनेका छन् ।

छोराले भने नजिकै रहेको मावली हजुरबुबा हजुरआमाकहाँ गएर घरमा भएको घटनाबारे जानकारी गराएका थिए । त्यसपछि उनीहरुले प्रहरीलाई घटनाबारे खबर गरेका थिए । ९ बजेतिर प्रहरी कहाँ घटनाबारे सूचना प्राप्त भएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी नवराज अधिकारी बताए ।

प्रहरीले काजीलाई गाउँदेखि केही पर रहेको जंगलमा लोकेट गरेर खोजी गर्दा उनि झुण्डिरहेको अवस्थामा फेला परेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्