बच्चा चोरेको आरोपमा पक्राउ परेकी मनकुमारीलाई ५ दिन हिरासतमा राख्न अनुमति

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, १३ फागुन । बच्चा चोरेको आरोपमा पक्राउ परेकी मनकुमारी सिंहलाई ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

प्रहरीले अपहरण तथा शरीर बन्धक मुद्दामा अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति मागेको थियो । जिल्ला अदालत काठमाडौंले ५ दिन म्याद थपेको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसएसपी भुपेन्द्र खत्रीले जानकारी दिए ।

दैलेख घर भई काँडाघारी बस्ने सिंहले शुक्रबार मध्याह्न थापाथलीस्थित परोपकार प्रसुती गृहबाट अरुको बच्चा लगेकी थिइन् । परीक्षणका लागि आएकी काभ्रेकी एक महिलाको २६ दिनको बच्चा उनले चोरेर लगेको प्रहरीले जनाएको छ ।

सीसीटीभी फुटेज लगायतको सहयोगमा प्रहरीले मध्यरातमा काँडाघारीबाट बच्चाको उद्दार गरेको थियो । प्रहरीले सिंहसँगै उनका श्रीमान र दिदीलाई पनि नियन्त्रणमा लिएको थियो, तर शिशु चोरीमा संलग्नता नदेखिएको निष्कर्षसहित छाड्यो ।

प्रहरी हिरासतमा रहेकी सिंहको भने केएमसी अस्पताल, सिनामंगलमा उपचार भइरहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्