काठमाडौं , २८ चैत । कपिलवस्तुको मायादेवी गाउँपालिका वडा नम्बर २ भैंसकुण्डा भन्ने स्थानमा गहुँ खेतमा आगलागी भएको छ । आगोमा जलेर करिब ३ बिघा खेतको गहुँ नष्ट भएको छ ।
बुधबार मध्याह्न कम्बाइन मेसिनको सहायताले गहुँ काट्ने बेला खेतमा आगो सल्किएको थियो । आगो अनियन्त्रित भएपछि गहुँ काट्ने मेसिन पनि पूर्णरुपमा जलेको छ ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता एवम् डिएसपी हरि ओलीले पाँच जना किसानको करिब ३ बिघा खेतको गहुँ जलेर नष्ट भएको बताए ।
आज मध्याह्न १२ बजेर १५ मिनेटमा प्रहरी टोली आगो निभाउन खेतमा खटिएर स्थानीयको सहयोगमा १२ बजेर ४५ मिनेटमा नियन्त्रणमा लिएको उनले जानकारी दिए । आगो निभाउन दमकलको समेत प्रयोग गरिएको थियो ।
प्रहरीले आगलागीको कारण खुल्न नसकेको जनाएको छ । भित्राउन ठिक्क भएको गहुँ खेतमै जलेर नष्ट भएपछि किसानहरु मर्कामा परेका छन् ।




