गर्मीमा छालाको स्याहार कसरी गर्ने ?

रेडियो काठमाण्डु
  • ख-
  • ख+

काठमाडौं, बैशाख २३ । अव दिन दिनै गर्मी ह्वात्तै बढेको छ । गर्मी मौसमको चर्को घाम, तातो हावा, धुलो धुँवा, पसिना र वातावरणीय प्रदुषणले छालामा प्रत्यक्ष प्रभाव पार्ने भएकाले छालाको विशेष हेरचाह गर्नुपर्छ ।
चिल्लो छालामा चिपचिप हुने, डण्डीफोर तथा खटिरा आउने, मसिना विमिरा आउने, सुख्खा र छाला फुस्रो हुने जस्ता समस्या हुन्छन् । त्यति मात्र होइन, छाला डढ्ने र कालो धब्बा बस्ने समस्या पनि उत्तिकै हुन्छ । कहिलेकाहिँ छालाको एलर्जी पनि हुन्छ । त्यसैले गर्मी मौसममा छालाको विशेष स्याहार आवश्यक हुन्छ ।

किन गर्मीमा छालाको समस्या बढ्छ ?

गर्मी मौसममा छालामा अत्याधिक पसिना निस्कन्छ । तेलग्रन्थीले धेरै तेल बिसर्जन गर्छ । धेरै तेल उत्पादन भएपछि छालामा धुलो जस्ता फोहोर टाँसिएर पसिना र तेल निस्कने छिद्रहरु बन्द हुन्छन् । त्यस कारण छालामा संक्रमण भई डण्डीफोर निस्कने, छाला रातो हुने, खटिरा तथा एलर्जी जस्ता समस्या शुरु हुन्छ ।

दिनमा छालाको स्याहार :

–बिहान उठेर छालाको प्रकृतिअनुसार क्लिन्जरले अनुहार धुनुपर्छ । यसले दिनभर छाला फ्रेस राख्छ ।
–अनुहार धोइसकेपछि टोनर लगाउनुपर्छ ।
–गर्मीमा पनि मोइस्चराइजर लगाउनुपर्छ । सजिलै सोस्ने मोइस्चराइजर लगाउनु उपयुक्त हुन्छ ।
–घरभित्रै बस्दा कमसेकम १५ एस।पी।एफ। र बाहिर निस्कदा ५० एस।पी।एफ।को सनस्क्रीन लगाउनुपर्छ ।
–हल्का प्रकृतिको मेकअप गर्नुपर्छ ।

रातमा छालाको स्याहार :

–दिनभरको मेकअप र छालाको फोहोर पसिना साँझपख अनिवार्य पखाल्नुपर्छ । फेसवास, क्लिन्जिङ मिल्क वा छाला सुहाउँदो कुनैपनि क्लिन्जरले अनुहार सफा गरे हुन्छ ।
–सफा भइसकेपछि टोनर लगाउनुपर्छ ।
–टोनर सोसिसकेपछि भिटामिन–सी सीरम लगाउनुपर्छ । यसले छालालाई रिपेयर गर्छ र कुनै समस्या आउन दिँदैन ।
– ‘भिटामिन–ई’युक्त नाइट क्रिम लगाउनुपर्छ ।
–आँखाको वरिपरि ‘आइक्रिम’ लगाउनुपर्छ । यसले आँखाको वरिपरि चाउरी पर्न दिँदैन । यसले ‘डार्क सर्कल’बाट बचाउँछ ।
–मृतकोषिकाले अनुहारमा चमक आउन दिँदैन । त्यसैले हप्तामा दुईपटक छालामा स्क्रब गर्नुपर्छ । स्क्रबले मृतकोषिका हटाउँछ । हप्तामा एकपटक अनुहारमा प्याक लगाउँदा छाला स्वस्थ हुन्छ । यसका लागि विभिन्न घरेलु सामग्री प्रयोग गर्न सकिन्छ ।
–महिनामा एकपटक विशेषज्ञको सल्लाहमा फेसियल गराउनुपर्छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्