विश्व कप क्रिकेटको छनोटमा नेपालले भोलि जिम्बाब्वेसँग खेल्दै

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, २ असार । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको छनोटमा नेपालले भोलि जिम्बाब्वेसँग खेल्दैछ ।

खेल नेपाली समय अनुसार दिउँसो पौने १ बजे हरारेमा सुरु हुनेछ । नेपालले भोलि आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक टेष्ट मान्यताप्राप्त देशसँग अन्तर्राष्ट्रिय एकदिवसीय खेल खेल्दैछ ।

सन् २०१८ मा एकदिवसीय मान्यता पाएपछि जिम्बाब्वेसँग नेपालले अहिलेसम्म एउटा मात्रै एकदिवसीय खेल खेलेकोमा १ सय ६ रनले पराजित भएको छ । नेपालले विश्व कप छनोटमा स्थान बनाउन आईसीसी विश्व कप लिग २ मा पछिल्ला १२ मध्ये ११ खेल जितेको थियो । नेपालले पछिल्ला १७ मध्ये १६ वटा अन्तर्राष्ट्रिय प्रतियोगितामा जित हात पारेको छ ।

भोलिदेखि सुरु हुने विश्व कप छनोटमा नेपाल रहेको समूहमा जिम्बाब्वेसँगै वेस्ट इन्डिज, अमेरिका र नेदरल्याण्ड्स रहेका छन् । नेपालभन्दा निकै बलिया देश भएकाले नेपाललाई विश्व कपमा छनोटको लागि चुनौती भने रहेको छ ।

समूह ‘बी’ मा आयरल्यान्ड, श्रीलङ्का, यूएई, स्कटल्यान्ड र ओमान छन् । दुवै समूहका शीर्ष तीन टोली ’सुपर सिक्स’ मा पुग्नेछन् । ‘सुपर सिक्स’ मा अर्को समूहबाट आउने तीन टोलीसँग प्रतिस्पर्धा हुनेछ ।

त्यसपछि शीर्ष दुई टोलीले आउँदो अक्टोबरमा हुने विश्व कपमा स्थान बनाउनेछन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्