काठमाडौंका नदीमा पानी बहाव वृद्धि गर्नेबारे उपप्रधानमन्त्री सिंहको विज्ञसँग छलफल

रेडियो काठमाण्डु
  • ख-
  • ख+

काठमाडौं , साउन ३० । उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले काठमाडौं उपत्यकाका बागमती, विष्णुमतीलगायत नदीमा पानी बहाव वृद्धि गर्नेबारे विज्ञसँग छलफल गरेका छन्।

उपप्रधानमन्त्री सिंहले आज मन्त्रालयमा विज्ञसँग छलफल गर्दै बागमती, विष्णुमतीलगायत नदीमा सफा पानी बगाउन अल्पकालिन, मध्यकालिन र दीर्घकालिन योजनाका बारेमा राय लिएका हुन्। सिंहले मन्त्री भएदेखि नै उपत्यकाका नदीलाई पुनर्जीवन दिने, काठमाडौं उपत्याकालाई स्वच्छ र सफा राख्ने, फोहोरमैला व्यवस्थापन गर्ने विषयमा चाँसो राख्दै समाधानका उपायबारे छलफल तीव्र पारेका छन्।

मन्त्रालयका सचिव मणिराम गेलालले तत्काल पानीको बहाव वृद्धि गर्न सुन्दरीजलदेखि टेकुसम्म केही स्थानमा बोरिङ गरेर पानी बगाउने, शंखमूलदेखि कुपण्डोलसम्म पानी जमाएर बोटिङ सञ्चालन गर्नेलगायत विषयमा विज्ञसँग राय लिइएको बताए। 

सो क्रममा विज्ञले सुख्खा याममा काठमाडौंका नदीमा जलप्रवाह बढाउन प्राविधिक सम्भाव्यताका बारेमा आआफ्नो राय राखेका थिए। केहीले बोरिङ गरेर पानीको प्रवाह बढाउने विकल्प अल्पकालिन रुपमा प्रयोगमा ल्याउन सकिने धारणा राखेका थिए भने केहीले बोरिङ गर्दा त्यसले पार्ने प्रभावको मूल्यांकन गर्नुपर्ने बताएका थिए।

पूर्वमन्त्री गणेश शाहले मन्त्रालयले उपत्यकाका नदीमा पानीको प्रवाह बढाउने, उपत्यकाको फोहोरमैला व्यवस्थापन गर्नेलगायत विषयमा विज्ञसँग छलफल सुरु गर्नु सकारात्मक रहेको बताए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्