काठमाडौं, असाेज २१ । प्रभु समूहअन्तर्गतका चार कम्पनीले गत असोज १०–१२ सम्मको अविरल वर्षापछिको झरीबाट गएको बाढीपहिरो तथा डुबानबाट प्रभावितको सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ७५ लाख रुपैयाँको सहयोग रकम उपलब्ध गराएका छन्।
बाढीपहिरो पीडितको खोजतलास, उद्धार र राहतमा सघाउने उद्देश्यले प्रभु समूहअन्र्तगतका प्रभु बैंक, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स, प्रभु क्यापिटल र प्रभु इन्स्योरेन्सबाट संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत समूहका अध्यक्ष देवीप्रकाश भट्टचनले कोषमा जम्मा हुने गरी प्रधानमन्त्री केपी शर्मा ओलीलाई १ करोड ७५ लाख रुपैयाँको चेक हस्तान्तरण गरे।
प्रभु समूहअन्तर्गतका उल्लिखित संस्थाबाट प्रदान गरिएको सहयोगले बाढीपहिरो तथा डुबान पीडितको स्वास्थ्योपचार तथा उद्धार कार्यमा सहायता पुग्ने अपेक्षा समूहको छ।