काठमाडौं, मंसिर २० । निर्माणाधीन कालीगण्डकी करिडोरमा एक साता सवारी आवागमन बन्द हुने भएको छ। कालीगण्डकी करिडोर योजनाअन्तर्गत गुल्मीको हर्मिचौरदेखि बागलुङको बलेवा सडक खण्डमा एक साताका लागि सवारी आवागमन बन्द हुन लागेको हो।
कालीगण्डकी करिडोर गैँडाकोट–राम्दी–मालढुंगा सडक योजनाले जिल्ला प्रशासन कार्यालय गुल्मी, पाल्पा र बागलुङलाई पत्राचार गरी मंसिर १९ देखि एक साताका लागि सडक बन्द हुने जानकारी दिएको हो।
सडक योजनाअन्तर्गत गुल्मीको कालीगण्डकी गाउँपालिका–२ स्थित अर्बेनी–हर्मिचौ सडक खण्डमा पर्ने गरेको जोखिमयुक्त भिर काट्नुपर्ने भएकाले उक्त सडकमा सवारी आवागमन बन्द हुन लागेको कालीगण्डकी करिडोर सडक योजनाका इञ्जिनियर अरुण खत्रीले बताए।
प्रत्येक दिन बिहान ६ देखि साँझ ६ बजेसम्म उक्त सडक बन्द हुनेछ। यात्रु तथा सवारी साधनको सहजताका लागि हर्मिचौर–मिर्मी–आधिदोभान हुँदै पुर्तिघाटतर्फको सडक प्रयोग गर्ने गरी आवश्यक सहजीकरणका लागि उक्त सडकअन्तर्गत पर्ने स्थानीय जिल्ला प्रशासन कार्यालयलाई आग्रह गरिएको छ।