पहिरोले बगाएको चुम्चेत लघुजलविद्युत् आयोजना मर्मत, हिमाली गाउँ झलमल्ल

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

 २५ चैत, काठमाडौं । गोरखाको चुम्चेत, चुम्लिङ, सिप्चेतलगायतका हिमाली गाउँ विद्युत् मर्मत भएपछि पुनः झलमल्ल बनेको छ।

गाउँको लघुजलविद्युत् आयोजना पहिरोले बगाएपछि चुमनुब्री गाउँपालिका–६ को चुम्चेत, चुम्लिङ, सिप्चेत, खारोङ, ताज्यू, डुम्जे, रेञ्जम, घो, यार्चो र खारगुम्बा बस्तीका करिब २०५ घरधुरीका बासिन्दा गत भदौदेखि दाउराको उज्यालोका भरमा जीवन गुजार्न बाध्य थिए। 

गाउँमा बिजुली नहुँदा गाउँले अन्धकारमा बस्न बाध्य भएको स्थानीय लोप्साङ धार्के लामाले बताए। “गत साउन १२ गतेको पहिरोले चुम्लिङ, चुम्चेत लघुजलविद्युत् आयोजना बगायो। त्यतिबेला गाउँले मिलेर जलविद्युत् मर्मत गरी अस्थायी रुपमा बिजुली बालेका थियौँ। पछि फेरि भदौमा आएको पहिरोले जलविद्युत् बगायो”, उनले भने, “भदौयता बीचबीचमा अस्थायी रुपमा बिजुली आए पनि नियमित थिएन। हाल मर्मत सम्पन्न भई नियमित रुपमा बिजुली बलेको एक हप्ता भयो।”

विद्युत् नहुँदा बत्तीमात्र होइन, दैनिक छाक टार्ने अन्न कुटानी पिसानीसमेत गर्न नपाइएको चुमनुब्री–६ चुम्चेतका वडाअध्यक्ष सरोज लामाको भनाइ छ। अहिले बिजुली बलेपछि गाउँलेलाई तोरी, मकै, गहुँलगायत खाद्यन्न कुटानीपिसानी गर्न सहज भएको छ।

“यता खासै रुख पाइँदैनन्। गाउँमा बिजुली नहुँदा दाउरा बालेर बस्नुपर्ने बाध्यता थियो। अलिअलि भएका रुख पनि फँडानी गरिएको थियो ”, उनले भने। सो गाउँमा केन्द्रीय प्रशारणको बिजुलीबत्तीको पहुँच पुगेको छैन। गाउँलेले  २०७९ जेठ १५ गते निर्माण सम्पन्न भएको ७५ किलोवाटको चुम्चेत, चुम्लिङ जलविद्युत् आयोजनाको बत्ती बाल्ने गरेका थिए।

गत भदौमा चुम्चेत खोला (ताम्जाखोला) मा उत्पादित सो लघुजलविद्युत् आयोजनाको मुहान, कुलो र ट्याङ्की सबै बगाएको सो आयोजनाका अध्यक्ष गोपाल लामा बताएका छन्।

कादुरी एग्रिकल्चरल एड एशोसिएशन ब्रिटिस गोर्खाले निर्माण सम्पन्न गरेको सो आयोजना भत्किएपछि चुमनुब्री–६ अन्तरगतका गाउँ अन्धकार बनेका थिए। पहिरोले झन्डै एक करोडको क्षति पुर्‍याएको लामाको भनाइ छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी