२५ चैत, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चैत २१ मा व्यापारिक साझेदारविरुद्ध ५० प्रतिशतसम्म कर लगाउने घोषणा गरेसँगै विश्व सेयरबजार राताम्य भएको छ। राष्ट्रपति ट्रम्पले अमेरिका आयात हुने व्यापारिक साझेदार देशका सबै उत्पादनमाथि लगाएको नयाँ आयात कर (ट्यारिफ) अप्रिल ५ देखि कार्यान्वयनमा आएको छ।
राष्ट्रपति ट्रम्पले आर्थिक, व्यापारिक, राजनीतिक, रणनीतिक साझेदार युरोपियन युनियन (ईयू) र प्रतिद्वन्द्वी एसियाली सुपरपावर चीनलाई ‘टार्गेट’ मा राखेर १० देखि ५० प्रतिशतसम्म नयाँ आयात कर लगाइने घोषणा ओभल अफिसबाट सार्वजनिक गरेका हुन्।
राष्ट्रिय आपतकालीन शक्ति प्रयोग गर्दै ट्रम्पले अमेरिकामा हुने सबै आयातमा १० प्रतिशत कर र लगभग ६० देशका सामानमा थप आयात कर घोषणा गरेसँगै अमेरिकी, युरोपेली, एसियाली सेयर बजारमा पहिरो गएको छ।
ट्यारिफ घोषणाको प्रभाव भारतीय सेयर बजारमा पनि देखिएको छ। आज बेन्चमार्क निफ्टीमा चार प्रतिशतभन्दा बढीको कमी देखिएको भारतीय सञ्चार माध्यमले जनाएका छन्। अघिल्लो कारोबार दिन बजार बन्द हुँदाको तुलनामा निफ्टी ९७६ अंकले घटेर २१ हजार ९२८ दशमलव ५५ अंमा ओर्लिएको थियो।
आज मुख्य सेयर परिसूचक सेन्सेक्स पनि ३ दशमलव ९६ प्रतिशत अर्थात् २ हजार ९८५ अंकले घटेर ७२ हजार ३७९ दशमलव ९३ अंकमा खुम्चिएको छ। आज भारतीय सेयर बजार खुल्नासाथ लगानीकर्ताले २०१ खर्ब ६० अर्ब भारु गुमाएका छन्। भारतको मुख्य सेयर सूचकांकमा खुल्नासाथ ३ प्रतिशत बढीले गिरावट आएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत हप्ता भारतबाट हुने आयातमा २६ प्रतिशत कर लगाएपछि नयाँ दिल्लीले भन्सार शुल्क वृद्धिबाट हुने ‘प्रभाव’ र ‘अवसर’ दुवैको परीक्षण गरिरहेको बताएको थियो।
नेसनल स्टक एक्सचेन्जमा सबैभन्दा ठूला भारतीय कम्पनीहरू प्रस्तुत गर्ने निफ्टी ५० तीन दशमलव ५५ प्रतिशतले घटेको छ।
समाचार तयार पारुन्जेल भारतको बलियो सूचना प्रविधि कम्पनी समावेश भएको निफ्टी आइटी ५.५३ प्रतिशतले घटेको छ। निफ्टी आइटीको सबैभन्दा ठूलो बजार अमेरिका हो।
द टाइम्स अफ इन्डियाले सेयर बजारको गिरावटलाई ‘रक्तपात’ भनेको छ।
भन्सार शुल्क घोषणापछि भारतको वाणिज्य विभागले विभिन्न उपायका प्रभाव सावधानीपूर्वक परीक्षण गरिरहेको भन्दै एक विज्ञप्तिमा ‘यो नयाँ विकासका कारण उत्पन्न हुन सक्ने अवसर पनि अध्ययन गरिरहेको जनाएको छ।
भारतको औषधी क्षेत्रले सन् २०२४ को आर्थिक वर्षमा अमेरिकामा आठ अर्ब डलर बढी उत्पादन निर्यात गरेको थियो।
ट्यारिफको प्रभावले अमेरिकी सेयर बजारमा पनि पहिरो गएको छ। शुक्रबारको कारोबारमा अमेरिकाका प्रमुख शेयर परिसूचक ५ प्रतिशतभन्दा धेरैले घटेका थिए।
अमेरिकी सेयर बजारमा आएको कमीबारे ट्रम्पले कुनै पनि चीजमा गिरावट नचाहने पनि कहिलेकाहीँ चीजहरू ठीक गर्न औषधी खानुपर्ने प्रतिक्रिया दिएका छन्।–एजेन्सी





