काठमाडौं, २६ चैत । आईकयू एयरले जारी गर्ने सूचीमा काठमाडौं विश्वकै प्रदूषित सहरको पहिलो नम्बरमा परेको छ। आज बिहान ७ बजे गरिएको प्रदूषण मापनमा काठमाडौं विश्वकै प्रदूषित सूचीको शीर्ष स्थानमा परेको हो।
सोमबार विश्वकै प्रदूषित सहरमध्ये नयाँ दिल्ली पहिलो हुँदा काठमाडौं दोस्रोमा थियो।
काठमाडौंको एक्यूआई २६२ रहेको छ। यसलाई निकै अस्वस्थ मानिन्छ। ५० सम्मको एक्यूआईलाई मात्र स्वस्थ मान्ने गरिएको छ। काठमाडौंको हावामा पीएम २.५ को मात्रा विश्व स्वास्थ्य संगठनको मापदण्डभन्दा ३७.५ गुणा बढी रहेको छ।
वायु प्रदूषणका कारण उपत्यकामा बिरामीको संख्या पनि बढेको छ। स्वास्थ्य मन्त्रालयले बाहिर व्यायाम नगर्न, मास्क लगाउन तथा झ्याल बन्द गरेर बस्न सुझाएको छ।
काठमाडौंपछि नयाँ दिल्ली दोस्रो तथा हनोई विश्वकै तेस्रो प्रदूषित सहर बनेका छन्। शीर्ष १० स्थानमा क्रमशः लाहोर, हो चि मिन्ह, वुहान, जकार्ता, यांगुन, छेन्दु र कम्बोडियाको फेनोम पेन रहेका छन्।





