सेनिटरी प्याड खरिदमा पाँच जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर, ५२ लाख बिगो मागदाबी

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

२७ चैत, काठमाडौं ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेनिटरी प्याड खरिदमा अनियमितता आरोपमा बारा कलैया उपमहानगरका  तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगले कलैयाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रल्हादप्रसाद वर्णवाल, शिक्षा अधिकृत विजय अधिकारी, जिन्सी प्रमुख राजेश ठाकुर र लेखा अधिकृत दिव्या सर्राफ तथा सेनिटरी प्याड खरिदको ठेक्का पाएका सागरदेवी फर्माका प्रोपाइटर विमलेश साहविरुद्ध मंगलबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।

आव २०७७/७८ र आव २०७८÷७९ का लागि मिलेमतोमा महँगोमा मूल्य कायम गरेर प्याड खरिद गरेको अनुसन्धानबाट पुष्टि भएपछि अख्तियारले ५१ लाख ९९ हजार १ सय २० रुपैयाँ बिगो कायम गरी कैद र बिगोबमोजिम जरिवाना मागदाबी गर्दै प्रतिवादीविरुद्ध मुद्दा दायर भएको हो।

आयोगले सागरदेवी फर्मा हैटौडा तथा त्यसका सञ्चालक विमलेश साहविरुद्ध पनि समान बिगो दाबी गरेको छ।

सरकारी कर्मचारीसँग मिलेमतो गरी गैरकानुनी लाभ हासिल गरेको आरोप आयोगले सञ्चालक साहविरुद्ध पनि लगाइएको छ। आरोपी सबैलाई बिगो बमोजिम कारवाही माग गरिएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी