ट्रम्पले चीनमाथि लगाए १०४ प्रतिशत आयात शुल्क

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

२७ चैत, काठमाडौं ।  राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि थप ५० प्रतिशत कर लगाएसँगै अमेरिका निर्यात हुने चिनियाँ सामानले १०४ प्रतिशत आयात शुल्क तिर्नुपर्ने भएको छ।

राष्ट्रपति ट्रम्पले मंगलबार रातीदेखि कार्यान्वयनमा जाने घोषणा गरेको थप ५० प्रतिशत करपछि दुई मुलुकबीच साँच्चिकै व्यापार युद्ध सुरु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘चीनले अमेरिकाविरुद्ध बदला लिने घोषणा गरेपछि यो कदम चालिएको हो।’

दोस्रो कार्यकाल सम्हाल्नासाथ ट्रम्पले चीनमा २० प्रतिशत कर लगाएका थिए। त्यसपछि ट्रम्पले विश्वभरका ६० मुलुकमा कर लगाउने घोषणा गरेसँगै चीनमा थप ३४ प्रतिशत कर लगाइयो।

ट्रम्पले यसअघि चीनले अमेरिकी सामानमा आयात शुल्क लगाउने निर्णय फिर्ता नलिए थप ५० प्रतिशत कर लगाइने चेतावनी सोमबार दिएका थिए।

ट्रम्पको चेतावनी बेवास्ता गर्दै चीनको वाणिज्य मन्त्रालयले अमेरिकी ’ब्ल्याकमेल’ स्वीकार नगर्ने र यसविरुद्ध अन्त्यसम्म लड्ने बताएको थियो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी