अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १२५ प्रतिशत भन्सार शुल्क लगाएपछि चीनले पनि कठोर प्रतिक्रिया दिएको छ। बीबीसीका अनुसार एक चिनियाँ अधिकारीले ‘चीन चुप लागेर नबस्ने’ प्रतिक्रिया दिएका छन् ।
अमेरिकाले चीनमा १०४ प्रतिशत भन्सार शुल्क लगाउने घोषणा गरेपछि चीनले जवाफी कदमस्वरूप अमेरिकाबाट आयात हुने वस्तुहरूमा भन्सार शुल्क ३४ प्रतिशतबाट बढाएर ८४ प्रतिशत पुर्याउने निर्णय गरेको थियो।
चीनको यो कदमपछि ट्रम्पले थप कडा प्रतिक्रिया दिँदै चिनियाँ वस्तुहरूमा आयात शुल्क १०४ प्रतिशतबाट बढाएर १२५ प्रतिशत पुर्याएका हुन्।
चीनको सरकारी समाचार संस्था सिन्ह्वाले वाणिज्य मन्त्रालयका एक अधिकारीलाई उद्धृत गर्दै लेखेको छ, ‘जब चिनियाँ जनताको अधिकार र हितमा चोट पुग्छ, त्यस्तो अवस्थामा सरकार चुप लागेर बस्दैन।’





