काठमाडौं, चैत्र २८ । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले ८४ को निर्वाचनअघि नै पार्टीको महाधिवेशन हुने बताउनुभएको छ । बिहीबार काठमाडौंमा कांग्रेस क्षेत्र नम्बर २ को दोश्रो प्रदेश सम्मेलनमा बोल्दै थापाले पार्टीको महाधिवेशनका बिषयमा कोहि अल्मलिनुनपर्ने भन्दै ८४ को निर्वाचनअघि नै पार्टीको महाधिवशेन हुने बताउनुभएको हो ।
पार्टीको महाधिवेशन छिटो गर्न पाइने तर पछि सार्न नपाइने उहाले बताउनुभयो । थापाले महाधिवेशनलगतै बिभिन्न निर्वाचन आउने भएकाले तयारीमा जुट्नुपर्ने उल्लेख गर्नुभयो । उहाले स्थानीयले गर्नुपर्ने काम प्रदेश र प्रदेशले गर्नुपर्ने काम संघले गरेको भन्दै त्यसलाई सुधार गर्नुपर्ने बताउनुभयो ।
संघीयता कार्यान्वयनलागि आवश्यक कानून समयमा बन्न नसकेकाले समस्या देखिएको भन्दै उहाले कानून निर्माणका साथै संविधानमा आवश्यक संशोधन गर्नुपर्नेमा जोड दिनुभयो । महामन्त्री थापाले नेपालको राजा कसैले पनि धोएर वा सफा गरेपनि संवैधानिक बनाउन नसक्ने स्पष्ट पार्नुभयो । निर्मल निवासमा बसेर उत्पात मनाउने ज्ञानेन्द्र शाहलाई नारायणहिटिमा राखेको भए के गर्थे भन्दै उहाले प्रश्न गर्नुभयो ।
उहाले जनताले चूनेका प्रतिनिधिहरु देश चलाउन सक्षम रहेको बताउनुभयो । लडेर ल्याएको गणतन्त्र र व्यवस्थामा कमजोरी भए सच्चाउन सकिने उहाको भनाइ छ ।





