काठमाडौं, असार २७ । नेपाल राष्ट्र बैंकले साउन १ देखि लागू हुने गरी सार्वजनिक गरेको मौद्रिक नीति २०८२/८३ प्रति प्रभु बैंकका प्रमुख प्रबन्धक रबिन्द्र ढकालले सकारात्मक प्रतिक्रिया दिएका छन्।
उनले सामाजिक सञ्जालमार्फत लेखेका छन् —“म यसलाई ‘सकारात्मक मौद्रिक नीति’ भन्छु।” ढकालका अनुसार यो नीति केवल नीतिगत दस्तावेज मात्र होइन, अर्थतन्त्रको सहजीकरण, स्थायित्व र पुनरुत्थानतर्फको स्पष्ट मार्गचित्र हो। नीति सन्तुलित, व्यावहारिक र सकारात्मक भएको उनको धारणा छ। उनले मौद्रिक नीति यस वर्ष आषाढमै सार्वजनिक हुनु आफैंमा गभर्नरको व्यावहारिक सोच र समयप्रतिको जिम्मेवारीको प्रतीक भएको बताए । नीति आर्थिक वर्षको पूर्वसन्ध्यामा ल्याउनु विश्वासिलो केन्द्रीय बैंकको संकेत भएको उनको भनाइ छ।
उनका अनुसार यो नीति आर्थिक वर्षको बजेट नीतिसँग समन्वय गर्दै तयार गरिएको राष्ट्र बैंकको गाइडलाइन हो — जसले बजारलाई अगाडि बढ्न मार्गदर्शन गर्छ। यसपटक घोषणाभन्दा पनि कार्ययोजनामा जोड दिइएको देखिएको ढकालले बताएका छ्न। उनले नीतिले बैंकको तरलता, कर्जाको पहुँच, शेयर बजार, घरजग्गा बजार, साना व्यवसाय र डिजिटल अर्थतन्त्र सबैलाई छोएको बताए। यदि नीति प्रभावकारी रूपमा कार्यान्वयन भयो भने, यसले नेपाली अर्थतन्त्रलाई गति मात्र होइन, दीर्घकालीन स्थायित्व पनि दिन सक्ने उनले धारणा ब्याक्त गरे ।
ढकालले बैंकहरूको समस्या र कर्जाको कडाइ समाधान गर्न सुधार प्रयास,व्यवसायहरूको चुनौती लाई कर्जा सहजीकरण र ब्याजदर स्थिरतामार्फत सम्बोधन ,घरजग्गा बजारको सुस्तता लाई उच्च सीमा र सहज प्रक्रियाबाट चलायमान बनाउन प्रयास,शेयर बजारको निष्क्रियता हटाउन धितो कर्जामा आत्मविश्वास थपिएको संकेतले नीति सकारात्मक देखिएको उनको भनाइ छ ।
प्रमुख प्रबन्धक ढकालले नकारात्मकता खोज्ने नभइ , सकारात्मक पक्ष पहिचान गरेर कार्यान्वयनमा ध्यान दिनुपर्ने बताएका छन।





