काठमाडौं । वैदेशिक रोजगार बोर्डले आर्थिक वर्ष २०८१र८२ मा वैदेशिक रोजगारीका क्रममा मृत्यु, अंगभंग वा बिरामी भएका श्रमिक तथा उनीहरूका परिवारलाई १ अर्ब ८५ करोड १२ लाख रुपैयाँ राहत वितरण गरेको जनाएको छ।
बोर्डका कार्यकारी निर्देशक डा। द्वारिका उप्रेतीका अनुसार, सो अवधिमा १,५१७ जना श्रमिकको मृत्यु भएका घटनामा मृतकका आफन्तलाई १ अर्ब २ करोड ३४ लाख रुपैयाँ राहत उपलब्ध गराइएको छ।
त्यस्तै, ८६७ जना श्रमिक वैदेशिक रोजगारीको क्रममा गम्भीर बिरामी वा अंगभंग भएर फर्किएका थिए। उनीहरूलाई २४ करोड ९९ लाख रुपैयाँ राहतस्वरूप प्रदान गरिएको छ।
वैदेशिक रोजगार बोर्डले राहत वितरण गर्दा श्रमिकको अवस्था र विशेषज्ञ चिकित्सकको सिफारिसका आधारमा न्यूनतम ५० हजारदेखि अधिकतम १० लाख रुपैयाँसम्मको सहायता दिने व्यवस्था रहेको बताएको छ।
यसै अवधिमा विभिन्न देशबाट १,०८६ जना मृतक श्रमिकका शवहरू नेपाल फर्काइएका छन्। ती शवहरू मृतकका घरसम्म पुर्याउने खर्च मात्रै ३ करोड २५ लाख रुपैयाँ पुगेको बोर्डले जानकारी दिएको छ।





