पार्टीमा बसेर गल्ति गर्नेले आत्मालोचना गर्नुपर्ने -प्रचण्ड

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, साउन १८ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा बसेर गल्ति गर्नेले आत्मालोचना गर्नुपर्ने बताउनुभएको छ । आइतबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको पार्टीको स्थायी कमिटी बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीले सोधको प्रश्नमा प्रचण्डले गल्ति गर्नेले नै आत्मालोचना गर्नुपर्ने बताउनुभएको हो ।

त्यसअघि बैठकमा माओवादी उपमहासचिव जनार्दन शर्माले आत्मसमीक्षा आत्मालोचनासहित पार्टीलाई अगाडि बढाउनुपर्नेमा जोड दिनुभएको थियो । प्रचण्डले भने बैठक जारी नै रहेकाले जसले गल्ती गरेको छ त्यसले आत्मालोचना गर्ने कुरा रहेको स्पष्ट पार्नुभयो ।

त्यस्तै बैठकपछि माओवादी उपमहासचिव वर्षमान पुनले पार्टीभित्रको समस्याका बारेमा बैठकमा खुल्ला र स्पष्ट रुपमा राखेको बताउनुभयो । बैठकमा जनार्दन शर्माले कुनै हालतमा पार्टी नछाड्ने भनेर धारणा राख्नुभएको पुनले बताउनुभयो ।

त्यस्तै माओवादी प्रवक्ता अग्नि सापकोटाले आइतबारको बैठकमा अधिकांश सदस्यहरुले नेतृत्वको बिकल्प नरहेको धारणा राखेको जानकारी दिनुभयो । जर्नादन शर्माले पनि नेतृत्वको विषयमा खासै कुरा नराखेको र आफुले राखेको अन्य बिषय ठिक रहेको धारणा राखेको सापकोटाले बताउनुभयो । अहिलको अवस्थामा पार्टी, सदन र सडकको नेतृत्वको बिकासका लागि प्रचण्डको विकल्प नरहेको उहाले जिकिर गर्नुभयो । प्रवक्ता सापकोटाले राजनीतिमा जनमत तलमाथि हुनु स्वभाविक रहेको भन्दै प्रचण्डले आत्मालोचना गर्नुपर्छ भनेर कसैले नबोलेको बताउनुभयो ।

सोमबार बस्ने स्थायी कमिटी बैठकमा बरिष्ठ उपाध्यक्ष र महासचिवले धारणा राख्ने र त्यसपछि अध्यक्ष प्रचण्डले जवाफ दिएर बैठक सम्पन्न हुने प्रवक्ता सापकोटाले बताउनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी