काठमाडौं, भदौ १२ । भक्तपुर जिल्ला अदालतले आशिका तामाङ र शरण तिरूवालाई पाँच/पाँच दिन कैद सजाय तोकेको छ।
न्यायाधीश विश्वनाथ भट्टराईको इजलासले आपराधिक उपद्रवमा दोषी ठहर गर्दै दुवै जनालाई कैदसहित जरिवाना पनि गरेको हो।
उनीमाथि सूर्यविनायक नगरपालिकाले साँगास्थित झोलुङ्गे पुलमा प्रवेश गर्नेहरूसँग २० रुपैयाँ कर सङ्कलन गरिरहेको बेलामा आशिका गएर कर्मचारीहरूबाट रसिद खोसेर जलाएको आरोप थियो। सोही आधारमा नगरपालिकाले आपराधिक उपद्रव कसुरमा प्रहरीमा जाहेरी दिएको थियो।
अदालतको आदेशअनुसार दुवै जनालाई ५ सय रुपैयाँ जरिवाना, ८ हजार ३ सय रुपैयाँ क्षतिपूर्ति र पीडित राहत कोषमा जनही २०० रुपैयाँ जम्मा गर्नुपर्नेछ।
तामाङ यसअघि जिल्ला अदालत भक्तपुरको आदेश अनुसार २० हजार धरौटी बुझाएर छुटेकी थिइन्।





