काठमाडौं, भदौ ३० । यातायात व्यवस्था विभागले चाडपर्वलाई मध्यनजर गर्दै यातायात सेवालाई प्रभावकारी बनाउनका लागि सवै तयारी भएको जनाएको छ ।
मंगलबार बिभागमा यातायात व्यवसायी लगाएत सरोकारवाला निकायसंगको छलफलका क्रममा विभागका महानिर्देशक राजीव पोखरेलले चाडपर्वमा सुरक्षित यात्रा गराउनका लागि बिभागका तर्फबाट सवै तयारी भएको बताउनुभएको हो । उहाले सडक क्षेत्रको सुशासन कायम गरेर यात्रुहरुलाई सुरक्षित साथ गन्तव्यतर्फ पुराउनका लागि सवै निकायबीच सहकार्य जरुरी रहेको उल्लेख गर्नुभयो । चाडपर्वमा समयमा सडक अवरुद्ध हुन नदिन ठाँउ ठाँउमा सडक बिभागसंगको सहकार्यमा डोजर लगाएतको व्यवस्था गरिने उहाले बताउनुभयो । पोखरेलले भाडा दरलाई पारदर्शी बनाउन यात्रु सहायता कक्ष लगाएत बिभिन्न स्थानमा भाडा दरको बोर्ड राखिने उल्लेख गर्नुभयो ।
छलफल कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले पछिल्लो तीन दिनमा करिव चार लाख यात्रुले उपत्यका छाडेको जानकारी दिनुभयो । यसअघिको बर्षमा घटस्थापनादेखि फुलपातीसम्म अत्याधीक चाप देखिएपनि यस बर्ष अहिलेदेखि नै यात्रुको चाप बढेको उहाले बताउनुभयो । सिटौलाले यात्रुहरुलाई सेवा दिन यातायात व्यवसायीहरु तयार रहेको भन्दै सरकारका निकायहरु पनि सेवाका लागि तयार रहनुपर्ने जिकिर गर्नुभयो । .
त्यस्तै यातायात व्यवसायीहरुले अहिलेको बिषम परिस्थीतिमा भाडादर बृद्धि नहुने र सेवामा ध्यान केन्द्रीत गर्ने प्रतिवद्धता जनाएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले अग्रिम टिकट खुला गर्ने भन्दा पनि सवारी साधनको उपलव्धताका आधारमा टिकट काटिने बताउनुभयो ।




