काठमाडौं, असोज २ । सरकारले अध्यादेशमार्फत निर्वाचन कानून संशोधन गरेर मतदाता नामावली अध्यावधिक गर्ने तयारी गरेको छ । बिहीबार गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन आयोगका पदाधिकारीसंग निर्वाचन कानून संशोधन गरेर युवाहरुलाई पनि मतदानको अवसर दिने गरि मतदाता नामावली अध्यावधिक गर्ने बिषयमा छलफल गर्नुभएको हो ।
गृहमन्त्री अर्यालले निर्वाचनसम्बन्धी कानूनमा देखिएका व्यवधानलाई अध्यादेशबाट संशोधन गरेर सवैलाई मतदानको अवसर प्रदान गर्न खोजिएको बताउनुभयो । उमेर पुगेर पनि मतदाता नामावलीमा नाम समावेश नभएका युवाहरुलाई मतदानको अवसर दिन मतदाता नामावली अध्यावधिक गर्ने उहाले बताउनुभयो । त्यस्तै विदेशमा रहेका नेपाल नागरिकलाई समानुपातीतर्फ मतदानको व्यवस्था गर्न पाउने गरि आयोगसंगको समन्वयमा कानून बनाउने सहमति भएको उहाले बताउनुभयो ।
त्यस्तै निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले विद्यमान कानूनबाट नयाँ मतदाता नामावली संकलन गर्न सक्ने अवस्था नरहेकाले कानूनमा बाधा व्यवधान हटाउन सके अध्यावधिक गर्न सकिने बताउनुभयो । उहाले सरकारले तोकेको समयमा निर्वाचन गर्न आयोग सक्षम र तयार रहेको उल्लेख गर्नुभयो ।
सुशीला कार्की नेतृत्वको सरकारले प्रतिनिधिसभा बिघटन गर्दै फागुन २१ गते निर्वाचनको मिति तय गरेको छ । निर्वाचनको मिति घोषणा भएपनि मतदाता नामावली संकलन बन्द गर्नुपर्ने कानूनी प्रावधान छ ।





