काठमाडौं, असोज २ । म्याग्दीका तीन वटा स्थानीय तहलाई सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरवाङ सडकमा यातायात सेवा अवरुद्ध भएको छ। यो सडक म्याग्दीको पश्चिमी क्षेत्रको ‘लाइफलाइन’ मानिन्छ। मंगला गाउँपालिका–२ लाम्पाटामा बुधबार राति खसेको पहिरोका कारण मंगला, मालिका र धवलागिरी गाउँपालिकाको जिल्ल्ला सदरमुकाम बेनी बजारसँग सिधा यातायात सम्पर्क टुटेको हो।
सडक अवरुद्ध हुँदा स्थानीयबासीलाई आवतजावत, ढुवानी र निकासीमा समस्या भएको छ। निर्माणाधिन जलविद्युत्, प्रशारण लाइन, सवस्टेशन, सडक, भवनलगायतका विकास आयोजनाहरु प्रभावित भएका छन्।
विंस २०७३ अघि पनि लाम्पाटामा पहिरोको समस्या थियो। तत्कालीन जिविसले एशियाली विकास बैंकको सहयोगमा सो ठाउँमा पहिरो नियन्त्रण गरेको थियो। सडक माथिबाट नौ वर्षपछि पुनः पहिरो खस्न थालेको मङ्गला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बताए।
अध्यक्ष रोकाले बिहीबार सार्वजनिक सूचना जारी गरेर पैदलयात्रुहरुका लागि बाबियाचौर– डौडेखोला– रसपुर–अल्काचौर–लाम्पाटा पदमार्ग प्रयोग गर्न अनुरोध गरेका छन्। पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख बिष्णु पौडेलले अपराहन्न देखि डोजर परिचालन गरेर सडकको पहिरो पन्छाउन सुरु गरेको बताए।





