काठमाडौं, असोज २४ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले नेकपा एमाले सम्बद्ध युवा संघलाई मोटरसाइकल र्याली र सभा गर्न रोक लगाएको छ। युवा संघले शनिबार काठमाडौंमा मोटरसाइकल र्याली आयोजना गर्ने घोषणा गरे पनि प्रशासनले सुरक्षाको कारण देखाउँदै अनुमति नदिएको हो।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) ईश्वरराज पौडेलले कुनै पनि समूह वा संगठनलाई र्याली, जुलुश र सभा जस्ता कार्यक्रम गर्न अनुमति नदिइएको जनाएका छन्। युवा संघका अध्यक्ष क्षितिज थेबेले असोज २५ गते तीनकुनेबाट मोटरसाइकल र्याली निकाल्ने सूचना यसअघि नै जारी गरेका थिए।
जिप्रका काठमाडौंले युवा संघको नाम उल्लेख नगरी एक सूचना जारी गर्दै सुरक्षा चुनौती र आम नागरिकको सुरक्षाको प्रत्याभूतिमा जटिलता आउन सक्ने कारण देखाएको छ।
सूचनामा भनिएको छ, ‘विभिन्न समूहहरुबाट हुने भनिएका र्याली, जुलुश, धर्ना, सभा र प्रदर्शन जस्ता गतिविधिहरुले सुरक्षा चुनौति बढाउन सक्ने र आम नागरिकलाई सुरक्षाको प्रत्याभूति गराउने कार्यमा थप जटिलताको अवस्था हुनेछ।’




