काठमाडौं, असोज ३० । प्रधानमन्त्री सुशीला कार्कीले आन्दोलनरत नर्सको समस्या तत्काल समाधान गर्न निर्देशन दिएकी छन्। उनले आज स्वास्थ्य सचिव डा. विकास देवकोटालाई बोलाएर तत्काल नर्सहरूको समस्या समाधान गर्न निर्देशन दिएकी हुन्।
प्रधानमन्त्री कार्कीले नर्सको आन्दोलनको विषयमा बुझेर तत्काल सम्बोधन हुने गरी कदम चाल्न र प्रगतिबारे जानकारी गराउन निर्देशन दिइन्।
देशमा रहेका दक्ष जनशक्तिलाई निकै न्यून पारिश्रमिक दिएर राखिनु उचित नभएको भन्दै प्रधानमन्त्री कार्कीले समस्या समाधान नभए ठूलो जनशक्ति विदेश पलायन हुने जोखिम बढ्ने बताइन्।
स्वास्थ्य मन्त्रालयको निर्णय बमोजिम पाचौँ तह बराबरको पारिश्रमिक पाउनुपर्ने माग राख्दै कास्कीको मणिपाल र गण्डकी मेडिकल कलेजका नर्सहरु आन्दोलनमा छन्।





