काठमाडौं, १२ कात्तिक। हाल देशभर मौसम बदली रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा मध्यम हिमपातको सम्भावना रहेको छ ।
कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा भारी हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।
गण्डकी प्रदेशका केही ठाउँमा, कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भागका थोरै ठाउँमा तथा बाँकी पहाडी तथा हिमाली भागका एक दुई ठाउँमा हल्का वर्षासहित हिमपात भइरहेको छ ।
यस्तै, दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत बाँकी पहाडी भागमा मौसम साधरणतया बदली रही तराई भागमा आंशिक बदली रहने अनुमान छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भागका एकरदुई ठाउँमा हल्का वर्षासहित हिमपातको सम्भावना छ ।
आज राति देशभर आंशिक बदली रहने सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भागका एकरदुई ठाउँमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।





