यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरू

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौँ। सरकारले सङ्घीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन, २०७३ को अनुसूची–२ मा संशोधन गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले संसद सचिवालयको दरबन्दी घटाउने निर्णयसँगै प्रशासनिक संरचनामा पुनःसंरचना गर्ने तयारी गरेको हो।

बैठकले नेपाल र मौरिससबिच भएको दोहोरो कर मुक्ति सम्झौता अन्त्य गर्ने निर्णय पनि गरेको छ। यससँगै नेपाल र मौरिससबीचको करसम्बन्धी विशेष सुविधा अब लागू नहुने भएको छ।

त्यसैगरी, सरकारले छापाखाना र प्रकाशनसम्बन्धी दोस्रो संशोधन नियमावली, २०८२ स्वीकृत गरेको छ। यो नियमावली राजपत्रमा प्रकाशित भएपछि अनलाइन मिडियाको दर्ता र नवीकरण प्रक्रिया औपचारिक रूपमा लागू हुने भएको छ।

बैठकले राष्ट्रपति रामचन्द्र पौडेलको नेतृत्वमा कतारको दोहामा आयोजना हुने “सेकेन्ड वर्ल्ड समिट फर सोसल डेभलपमेन्ट” कार्यक्रममा सहभागिताका लागि २०८२ कार्तिक १७ देखि २० गतेसम्मको औपचारिक भ्रमण स्वीकृत गरेको छ।

यस्तै, राष्ट्रिय सभा सदस्यको रिक्त पद पूर्तिका लागि २०८२ माघ ११ गते आइतबार निर्वाचन गर्ने मिति तोक्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्