बीपी राजमार्ग पुनर्निर्माण गर्न जापान सरकारले दियो २ अर्ब ६० करोड अनुदान

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, कार्तिक १३ । बीपी राजमार्गको बाढी प्रभावित खण्डको पुनर्निर्माण तथा मर्मतसम्भारका लागि नेपाल सरकार र जापानबीच आज अर्थ मन्त्रालयमा अनुदान सम्झौतामा हस्ताक्षर भएको छ।

अर्थमन्त्री रामेश्वर प्रसाद खनाल र गृहमन्त्री ओम प्रकाश अर्यालको उपस्थितिमा भएको हस्ताक्षर समारोहमा जापान सरकारले नेपाललाई २ अर्ब ८० करोड जापानी येन (करिब २ अर्ब ६० करोड नेपाली रुपैयाँ) बराबरको अनुदान सहायता प्रदान गरेको छ।

गत वर्षको विनाशकारी बाढी र पहिरोका कारण बर्दिबासदेखि धुलिखेलसम्मको १५९ किलोमिटर लामो बीपी राजमार्गका विशेषगरी रोशी नदी आसपासका खण्डहरू क्षतिग्रस्त भएका थिए। अनुदान सहायतासम्बन्धी एक्स्चेन्ज अफ नोट्समा नेपाल सरकारको तर्फबाट अर्थ सचिव घनश्याम उपाध्याय र जापानका लागि राजदूत महामहिम तोरु माएदाले हस्ताक्षर गरेका हुन्।

यसैगरी, अनुदान सम्झौतामा अर्थ मन्त्रालयको वैदेशिक सहायता समन्वय महाशाखाका सहसचिव धनीराम शर्मा र जापान अन्तर्राष्ट्रिय सहयोग एजेन्सी नेपालका प्रमुख प्रतिनिधि मित्सुजाकी मिजुकीले पनि हस्ताक्षर गरे।

हस्ताक्षर समारोहपछि अर्थमन्त्रीले जापान नेपालका लागि एक विश्वसनीय र भरोसायोग्य विकास साझेदार रहेको उल्लेख गर्दै जापानले नेपालको आर्थिक-सामाजिक विकास र पूर्वाधार निर्माणका क्षेत्रमा निरन्तर पुर्‍याउँदै आएको सहयोगप्रति आभार व्यक्त गरे। साथै, उनले हाल प्रदान गरिएको अनुदान सहायता नेपाल र जापानबीचको मित्रता र सहकार्यको अर्को महत्वपूर्ण प्रतीक भएको पनि बताए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्